यू–२३ मा अर्को हार

ताजकिस्तानमा भइरहेको छनोटमा सिरियाले शनिबार नेपाललाई ४–२ ले पराजित गरेको थियो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग ४–० ले पराजित भएको हो । 

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एएफसी यू–२३ एसिया कप छनोटमा लगातार दोस्रो खेलमा पराजित भएको छ । ताजकिस्तानमा भइरहेको छनोटमा सिरियाले शनिबार नेपाललाई ४–२ ले पराजित गरेको थियो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग ४–० ले पराजित भएको हो । 

मोहम्मद अलमुस्ताफाको गोलमा सिरियाले २६ औं मिनेटमा अग्रता लिएको थियो । निराजन धामीले ५६ औं मिनेटमा नेपाललाई बराबरीमा ल्याए । सुमित श्रेष्ठले ६६ औं मिनेटमा गरेको गोलमा नेपालले अग्रता लिएको थियो । अली अलरिनाले ७२ औं मिनेटमा गोल गरेर सिरियालाई २–२ को बराबरीमा ल्याए ।

अन्तिम १० मिनेटमा दुई गोल गर्दै सिरियाले खेल जितेको हो । कप्तान मोहम्मद अलासवादले ८१ औं मिनेटमा सिरियाबाट तेस्रो र मोहम्मद नायेफले ९० औं मिनेटमा चौथो गोल गरे । समूह ‘के’ मा रहेको नेपालले मंगलबार अन्तिम खेलमा फिलिपिन्सको सामना गर्नेछ । अघिल्लो खेलमा फिलिपिन्स पनि सिरियासँग २–१ ले पराजित भएको थियो ।

कान्तिपुर

Link copied successfully