५० औं खेलमा कप्तानी गर्दै किरण

नेपालले शनिबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दै छ । दुई मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली नेपाल आएको हो । संयोग कस्तो भने किरण आफ्नो व्यावसायिक फुटबल जीवन अहिले बंगलादेशकै प्रिमियर लिगमा बिताइरहेका छन् ।

भाद्र २१, २०८२

हिमेश

Kiran captaining the 50th match

What you should know

काठमाडौँ — जति बेला किरणकुमार लिम्बूले नेपालका लागि पहिलो पटक डेब्यु गरे, उनलाई लागेको थियो, आफ्नो खेल जीवन त्यही बेला सकिनेछ । तर, त्यसको १७ वर्षपछि यिनै गोलरक्षक नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछन् । उनीसँग एउटा अर्को कीर्तिमान पनि जोडिँदै छ । 

नेपालले शनिबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दै छ । दुई मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली नेपाल आएको हो । संयोग कस्तो भने किरण आफ्नो व्यावसायिक फुटबल जीवन अहिले बंगलादेशकै प्रिमियर लिगमा बिताइरहेका छन् । त्यही देशको राष्ट्रिय टिमको सामना गर्दा उनले कप्तानी खेलसंख्याले ५० को जादुयी आँकडा छुँदै छ । किरणका खास–खास तथ्यांक किन हो, बंगलादेशसँगै जोडिन्छ त ? 

सबैभन्दा पहिले त्यो डेब्यु खेलमै फर्किने हो भने दिन थियो, सन् २००८ को मे २४ । एएफसी च्यालेन्ज कप छनोटमा नेपालले भियतनामको न्होम्पेनमा मकाउको सामना गरेको थियो । प्रशिक्षक थोमस फ्लाथले किरणलाई पहिलोपल्ट मौका दिएका थिए, तर उनी मैदानमा जम्माजम्मी २३ मिनेट टिके । मकाउका खेलाडीसँग जुध्दा किरणको बंगारामा गम्भीर चोट लागेको थियो । काठमाडौं फर्केर लामो समय उपचारपछि मात्रै त्यसमा सन्तोषजनक सुधार आएको थियो । 

‘चोट लागेर मैदानमै छट्पटिरहेका बेला मलाई लागेको थियो, यो नै मेरो खेल जीवनको अन्त्य हो । मैले फेरि नेपालका लागि खेल्न पाउने छैन । नेपालबाट मात्र होइन, मलाई त फुटबल खेल्न सक्छु भन्नेमै शंका थियो,’ किरणले पछि सुनाएका थिए । उपचारका क्रममा शल्यक्रियाकै आवश्यकता परेको थियो । त्यसपछि उनले फुटबल पनि खेले । सन् २०११ को मार्च १७ मा भुटानविरुद्धको खेलबाट उनले पुनरागमन गरेका थिए । 

प्रशिक्षक ग्राहम रोबर्टसले उनलाई दोस्रो ‘क्याप’ दिलाए । त्यसपछि के भयो, अब त्यो इतिहास भयो । उनी नेपालका लागि सय खेल खेल्ने पहिलो खेलाडी हुन् । यो आफैंमा ऐतिहासिक उपलब्धि भयो । अब सबैभन्दा बढी खेलमा कप्तानी गर्ने पनि उनै । नेपालका लागि ५० खेल खेल्न पाउनु पनि ठूलो हो, अरू खेलाडीका लागि त यो सपना हुने गर्छ । डेब्युकै सपनामा रुमल्लिने समेत छन् । 

किरण कति धेरै भाग्यमानी छन् भने उनी बंगलादेशविरुद्धको पहिलो खेलमा नेपाललाई ५० औं पटक आर्म–ब्यान्ड लगाएर मैदानमा उत्रँदै छन् । किरणलाई के नेपालबाट पहिलो पटक कप्तानी गरेको याद छ ? उनी भन्ने गर्छन्, ‘किन नहुनु ? त्यो दिनलाई कसरी भुल्न सक्छु र ? त्यो अद्भूत अनुभव थियो, त्यो गर्वले भरिएको थियो ।’ कप्तानीको भूमिकाले उनलाई खुसीसँगै जिम्मेवारी पनि दिएको थियो । 

सन् २०१८ को साफ च्याम्पियनसिप थियो । त्यो बंगलादेशको ढाकामै भएको थियो । प्रशिक्षक बालगोपाल महर्जनले उनलाई सबैभन्दा पहिले कप्तानी अवसर दिएका थिए । त्यो बेला नियमित कप्तान भने विराज महर्जन थिए । बीचमा भरत खवास पनि कप्तान भए । किरणले नियमित रूपमा कप्तानी गर्न थालेको भने सन् २०१९ पछि हो । चाइनिज ताइपेईविरुद्ध त्यो वर्षको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले नेतृत्व सम्हाले । 

त्यसपछि यो त नियमित प्रक्रियामा परिवर्तन भयो । बीचबीचमा अरू केही खेलाडीले पनि कप्तानी गर्ने अवसर पाए । तर ती सबैमा अरूलाई त्यो मौका किरणको अनुपस्थितिमा मात्रै मिलेको थियो । अहिले तत्काल किरणलाई नेपाली गोलपोस्ट सम्हाल्ने जिम्मेवारीबाट हटाउन सक्ने कोही देखिन्न । उनी त केही नभए पनि अझै ४० वर्षको उमेरसम्म खेलिरहने योजनामा छन् । 

‘म अझै ४–५ वर्ष सक्रिय रहेर खेल्ने छु,’ उनी भन्छन् । खासमा उनको संन्यासको कुनै योजना नै छैन । फेरि बंगलादेश पुलिसले उनलाई त्यसै त्यहाँको लिग खेल्न बोलाएको होइन । जति बेला उनले साँच्चै खेल्न छाड्ने छन्, त्यतिबेला उनको नाममा के कति कीर्तिमान जोडिनेछ, त्यो हिसाब गर्न मज्जै आउने छ । त्यसमध्ये धेरै कीर्तिमान विरलै तोडिने छन् । 

नेपालका अहिलेसम्म कप्तान र तिनले नेतृत्व गरेको खेलसंख्या

नाम                                 खेल संख्या

किरणकुमार लिम्बू                   ४९

सागर थापा                              ४२

राजुकाजी शाक्य                      ३५

गणेश थापा                             २४

विराज महर्जन                         १८

उपेन्द्रमान सिंह                       १७

राकेश श्रेष्ठ                            १४

रूपकराज शर्मा                      १३

दीपक अमात्य                         १०

वसन्त थापा                            ५

श्रीराम रञ्जितकार                    ४

बालगोपाल महर्जन                ४

भरत खवास                          ४

हरि खड्का                          ३

सुरेश पन्थी                          २

अनिल गुरुङ                        २

नवयुग श्रेष्ठ                          २

वसन्त गुरुङ                        १

देवनारायण चौधरी                १

सुजल श्रेष्ठ                           १

पुजन उपरकोटी                    १

रोहित चन्द                         १

हिमेश

Link copied successfully