२३ औं लिस्नु कप: अञ्चलपुर युवा क्लब ७-३ गोलले विजयी

अञ्चलपुरले सम्पूर्ण युवा क्लबलाई ७-३ गोल ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

भाद्र २१, २०८२

सन्जु पौडेल

23rd Lisnu Cup: Anchalpur Yuva Club won by 7-3 goals

तिलोत्तमा — रुपन्देहीमा जारी २३ औं लिस्नु कप अन्तर्गत शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा अञ्चलपुर युवा क्लब विजयी भएको छ । उसले सम्पूर्ण युवा क्लबलाई ७-३ गोल ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अञ्चलपुरको जितमा आशिष गुरुङ र उज्ज्वल राईले २/२ गोल गरे । त्यस्तै, विजयसिंह ठकुरी र चन्दन दासको प्रहारबाट २ गोल थपिँदा अञ्चलपुरले एक गोल आत्मघाती उपहार पाएको थियो । सम्पूर्णका लागि भने सबी गुरुङले २ गोल गरे भने १ गोल गणेश हमालले गरेका थिए ।

सलिल ढकालले दोहोरो पहेँलो कार्ड पाएपछि सम्पूर्ण ८ खेलाडीमा सीमित भएको थियो । खेलमा अञ्चलपुरका आशिष गुरुङ 'म्यान अफ दि म्याच' भए ।

भदौ २७ गतेसम्म चल्ने खेलमा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । खेलमा विभिन्न विधामासमेत पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार हुने अन्तिम क्वाटरफाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहरबीच खेल हुने आयोजक लिस्नु युवा क्लबका खेल संयाेजक सुदीन भण्डारीले जानकारी दिए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully