असोज ४ मा रेडपान्डा म्याराथन, महिला र पुरुषका लागि समान पुरस्कार

रेडपान्डाको नाममा गत वर्ष असोज ५ गते ताप्लेजुङमा पहिलो पटक प्रतियोगिता भएको थियो ।

भाद्र २०, २०८२

आनन्द गौतम

RedPanda Marathon on October 4, equal prizes for men and women

What you should know

ताप्लेजुङ — यस वर्षको रेडपान्डा म्याराथन प्रतियोगिता इलामको सन्दकपुरमा हुने भएको छ । ‘अन्तर्राष्ट्रिय रेडपान्डा डे’ को अवसर पारेर असोज ४ गते सनिबार (सेप्टेम्बर २०) हुने भएको हो । रेडपान्डाको नाममा गत वर्ष असोज ५ गते ताप्लेजुङमा पहिलो पटक प्रतियोगिता भएको थियो ।

सदरमुकाम फुङलिङदेखि पाथीभरा हुँदै सदरमुकामसम्म गराइएको थियो । तर यस वर्ष हुने प्रतियोगितालाई दोस्रो भनिएको छैन। गत वर्ष अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल भएको थियो । यस वर्ष ट्रेल नभई सडकमा दौडाउने र अन्तर्राष्ट्रिय धावकलाई सहभागी नगराइने भएकाले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागिएको रेडपान्डा नेटवर्कका परियोजना संयोजक वाङचु भोटियाले जानकारी दिए । 

म्याराथनका लागि इलाममा ४४.२ किलोमिटर दुरी निर्धारण गरिएको छ । दीप ज्योति युवा क्लब पाँचथर परियोजना कार्यालय इलामका संयोजक राम रिमालका अनुसार १ हजार २ सय २० मिटर उचाइको इलाम सदरमुकामको चोक बजार देखि सुरु भएर ३ हजार ६ सय १० मिटर उचाइको सन्दुकपुरमा पुगेर प्रतियोगिता सम्पन्न हुनेछ । गत वर्ष ३ हजार ७ सय ९४ मिटर उचाइमा पुगेर धावक फर्किएका थिए । 

यस वर्षको प्रतियोगिताका लागि पुरस्कार राशिमा व्यापक वृद्धि गरिएको छ । रिमालका अनुसार नगद पुरस्कारमा मात्रै ७ लाख २० हजार रुपैयाँ खर्च हुनेछ । महिला र पुरुष दुवैका लागि समान पुरस्कार राखिएको रेडपान्डा नेटवर्कका संरक्षण प्रबन्धक सोनाम शेर्पाले जानकारी दिए ।

गत वर्ष महिला र पुरुषको पुरस्कार राशिमा विभेद भएको थियो । समान दुरीमा दौडाएर पुरस्कार राशिमा विभेद गरेको भन्दै ताप्लेजुङमा आयोजक प्रति नागरिकले असन्तुष्टि जनाएका थिए । यस वर्ष तीन विधामा पुरस्कार दिइने रिमालले जानकारी दिए ।

जसमा पुरुष, महिला र परियोजना सञ्चालित जिल्ला रहेका छन् । पुरुष र महिला तर्फका प्रथमले १ लाख ५० हजार, द्धितियले १ लाख, तृतीयले  ५० हजार र चौथो हुनेले ३० हजार रुपैंया प्राप्त गर्ने छन् । परियोजना सञ्चालित ताप्लेजुङ, पाँचथर र इलामका प्रतिस्पर्धीले २५, २० र १० र ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । चौथोसम्म लाई पुरस्कार दिने रिमालले जानकारी दिए । 

गत वर्ष भने चार विधामा पुरस्कार दिइएको थियो । समग्रमा प्रथम हुनेले १ लाख ५० हजार पाएका थिए । पुरुष र महिला धावकले क्रमशः ५०, ३० र २० हजारका दरले पुरस्कार पाए । पुरुषसँग महिलाले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले समग्रमा पुरस्कार राखेर महिलामाथि विभेद भएको आवाज महिलाले उठाएका थिए । सेप्टेम्बर महिनाको तेस्रो शनिवार लाई रेडपान्डा दिवस मनाउने गरिएको छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully