इन्डो–नेपाल कराते सुरु, अन्भीलाई दुई स्वर्ण

नेपाली खेलाडी अन्भी शाहीले २०–२५ केजी तौल समूह र ८–९ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Indo-Nepal Karate starts, Anvi gets two golds

What you should know

काठमाडौँ — नेपाली खेलाडी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको शुक्रबार दुई स्वर्ण पदक जितेकी छन् । उनले महिला २०–२५ केजी तौल समूह र ८–९ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् ।

आयोजक समृद्धि स्कुलको खेलपरिसरमा आयोजित प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । कृष्टि तामाङ र आश्रेया कार्की तेस्रो भए ।

उमेर समूहको फाइनलमा अन्भीले नेपालकी अनुष्का महर्जनलाई हराइन् । समृद्धि नेपालले कांस्य जितिन् ।

४–५ वर्षको गर्ल्समा आर्या महर्जन, ८–९ वर्ष ब्वाइजमा दिभान्स थापा, १०–१४ वर्षको ब्वाइजमा अश्विन पुन मगर, १५–१७ वर्ष ब्वाइजमा प्रिन्स श्रेष्ठ, क्याडेट गर्ल्समा सुविता गौतम, गर्ल्स जुनियरमा बार्बी शर्मा, सिनियरमा वन्दना तामाङ, २०–२५ केजी ब्वाइजमा प्रमिशसिंह क्षेत्री र ७–८ वर्ष ब्वाइज ऋषि न्यौपानेले स्वर्ण जितेका थिए ।

ब्वाइज २५–३० केजीमा सनिश लामा, ४–५ वर्षको ब्वाइजमा आयान शाही र ८–९ वर्षको ब्वाइजमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बीबाहेक सबै स्वर्ण विजेता नेपाली खेलाडी हुन् । बार्बी भारतीय हुन् ।

प्रतियोगिताको नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले उद्घाटन गरेका थिए । उनले केही स्पर्धाका विजेतालाई पुरस्कृत पनि गरे ।

काता र कुमुते गरी ४५ विधा समावेश प्रतियोगितामा २ सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीले जनाएका छन् । नेपालका २५ र भारतका ५ विद्यालयबाट खेलाडीले भाग लिएका छन् । प्रतियोगिता शनिबार सकिनेछ ।

कान्तिपुर

Link copied successfully