पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हरायो ।
What you should know
कास्की — पोखरामा शुक्रबारदेखि सुरू भएको दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले विजयी सुरूवात गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हरायो ।
ललितपुरले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्यो । मधेशले पहिलो सेटको सुरूवातमा लगातार ३ अंक जोडेको थियो । त्यसपछि खेलमा दुवै टिमले अंक बाँडिरहे । दुवै टिमले १३–१३ अंक जोडेपछि भने खेलमा ललितपुरले अग्रता बनाउन थाल्यो ।
दोस्रो सेटमा ललितपुरले दोब्बर अंकको फरक पारेर अग्रता बनाइरहृयो । ललितपुर सेट पोइन्टको खोजीमा रहँदा मधेशले ११ अंक जोडेको थियो । त्यसपछि मधेशले लगातार दुई अंक जोड्यो । तर, ललितपुरको प्रदर्शनसामु मधेश निरीह रहन पुग्यो र दोस्रो सेट फराकिलो अंकले गुमायो । तेस्रो सेटमा मधेशको प्रदर्शन सुधारिएको थियो । ललितपुरका नेपाली र विदेशी खेलाडीको तालमेल मिल्दा मधेशले तेस्रो सेटमा पनि जित निकाल्न सकेन ।
यसअघि शुक्रबार भएको उद्घाटन खेलमा कर्णाली यश्विसले घरेलु टिम पोखरा निन्जाजलाई पराजित गरेको थियो । इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गरेको लिगमा ६ फ्रेन्चाइज टिम सहभागी छन् । अंक तालिकाको शीर्ष दुईमा रहने टिमबीच भदौ २८ मा फाइनल हुनेछ ।
शनिबार ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा कर्णाली यश्विस र लुम्बिनी लाभाज मैदान उत्रने छन् । तेस्रो खेल मधेश युनाइटेड र पोखरा निन्जाजबीच हुनेछ ।
