सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन ब्याटर क्रिस लिन 

अष्ट्रेलियन खेलाडी लिनले २९३ टी २० खेल खेल्दै ८ हजारभन्दा बढी रन बनाएका छन्।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Australian batsman Chris Lynn at Far West Royals

What you should know

काठमाडौँ — अष्ट्रेलियन ब्याटर क्रिस लिनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग खेल्ने भएका छन् । नोभेम्बर १७ बाट सुरु हुने एनपीएलको दोस्रो संस्करणका लागि अनुबन्धन हुने उनी पहिलो विदेशी खेलाडी हुन् । 

माथिल्लोक्रममा ब्याटिङ गर्ने लिनले अष्ट्रेलियाबाट १८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र ४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् । लिनले टी २० संरचनामा कुल २ सय ९३ खेल खेल्दै १४३ माथिको स्ट्राइक रेटमा ८ हजारभन्दा बढी रन बनाएका छन् । उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

‘बिग बास लिगमा प्रतिष्ठा कमाएका अष्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौँ । क्रिस लिन टिममा सामेल भएकोमा हामी निकै खुसी छौँ र उनको आगमनले टिमलाई अझै मजबुत बनाउनका साथै नेपाल प्रिमियर लिगको प्रतिष्ठा बढाउनेमा विश्वास गर्छौँ,’ सुदुरपश्चिमको विज्ञप्तिमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले भनेका छन् ।’

लिनले अस्ट्रेलियाको बिग बासमा १ सय २७ खेलमा झन्डै १५० को स्ट्राइक रेटमा सबैभन्दा बढी ३ हजार ९ सय ५५ रन बनाएका छन् । सर्वाधिक रन बनाउने सूचीमा उनीपछि एरोन फिन्च, ग्लेन म्याक्सवेल रहेका छन् । साथै बिग बासमा उनले २ सय २० छक्का प्रहार गरेका छन् । उनको पछि रहेका म्याक्सवेलले १ सय ४९ छक्का प्रहार गरेका छन् । 

‘म नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै उत्साहित छु । यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ,’ लिनले भनेका छन् । सुदुरपश्चिम पहिलो संस्करणको एनपीएलको उपविजेता टोली हो । टोली फाइनलमा जनकपुर बोल्टससँग पराजित भएको थियो । 

कान्तिपुर

Link copied successfully