लिग चरणको अन्त्यमा आरएस कम्तीमा समूहको दोस्रो स्थानमा रहने निश्चित छ । संकटापछि आरएस राष्ट्रिय लिगका लागि छनोट हुने दोस्रो टिम बनेको छ ।
काठमाडौँ — पोखराको आरएस रिसोर्टले एन्फा वुमेन्स लिग छनोट २०८२ मा बिहीबार स्टुडेन्ट्स फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ । यस जितसँगै छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लेको आरएस महिला राष्ट्रिय टिमका लागि छनोट भएको छ ।
लिग चरणको अन्त्यमा आरएस कम्तीमा समूहको दोस्रो स्थानमा रहने निश्चित छ । संकटापछि आरएस राष्ट्रिय लिगका लागि छनोट हुने दोस्रो टिम बनेको छ । संकटा यसअघि समूह ‘बी’ बाट छनोट भएको थियो । च्यासल मैदानमा प्राप्त जितपछि आएरसको छ खेलबाट १५ अंक भएको छ ।
स्टुडेन्ट्सले भने छ अंकमा सीमित रहेर छनोट प्रतियोगिता टुंग्याएको छ । आरएसको जितमा विपना परियारले पहिलो मिनेटमै गोल गरिन् । उनको गोल ४२ सेकेन्डमै सम्भव भएको थियो र यो छनोटमा अहिलेसम्म सबैभन्दा चाँडै सम्भव गोल पनि रह्यो ।
यस्तै सरिता विकले आरएसका लागि दुई गोल गरिन् । सलिना सारुले पनि एक गोल थपिन् । स्टुडेन्ट्सबाट सम्भव भएको एक मात्र गोल वसन्ती खुलालको नाममा रह्यो ।
