पिपल्स च्वाइसको मनोनयनमा परे पनि क्रिकेट खेलाडीले अहिलेसम्म अवार्ड जितेका छैनन्।
What you should know
काठमाडौँ — महिला क्रिकेटको आडभरोसा बनिरहेकी पूजा महतोको कप्तानीमा गत वर्ष नेपाली यू–१९ महिला टोली मलेसियामा आईसीसी विश्वकप खेलेर फर्किएको हो ।
पूजाले आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालका लागि सानदार प्रदर्शन गरेकी थिइन् । उनले छनोट चरणमा सर्वाधिक रन बनाउनुका साथै दोस्रो सर्वाधिक विकेट पनि लिएकी थिइन् । एसिया छनोटअन्तर्गत कुवेतसँगको खेलमा शतक प्रहार गर्नुका साथै ५ विकेट लिएकी थिइन् । छनोटमा २ सय ७२ रन बनाएकी पूजाले १० विकेट लिन सफल भएकी थिइन् ।
यू–१९ महिला टोलीको नेतृत्व गरिरहेकी पूजाले आफूलाई राष्ट्रिय टोलीको हिस्सा बनाइसकेकी छन् । दायाँहाते ब्याटर तथा मध्यम गतिकी बलर उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित छिन् ।
सन् २००६ को फेब्रुअरीमा महोत्तरी जिल्लाको गौशालामा जन्मिएकी पूजाका लागि बुवा रञ्जितको संघर्ष प्रेरणास्रोत हो । पूजा रोजगारीका लागि भारत पुगेका बुवासँगै उतै पुगिन् । कमजोर आर्थिक अवस्था र परिवारको भविष्य सुधार्ने सपना बोकेर बुवा रञ्जित महोत्तरीबाट दिल्ली पुगेका थिए । आइपर्ने सबै दुःख सहेर रञ्जितले तीन छोरी र एक छोराको भविष्य उज्ज्वल पारिरहेका थिए । पूजा माइली छोरी हुन् ।
कोभिड महामारीपछि भाइसँगै क्रिकेट प्रशिक्षण सुरु गरेकी पूजाले अहिले आफूलाई राष्ट्रिय टोलीको अलराउन्डर भूमिकामा स्थापित गरिसकेकी छन् । ‘भाइले क्रिकेट खेल्न थालेको थियो । हामी उसलाई क्रिकेट सिकाउन एकेडेमीमा लैजान्थ्यो । ऊसँग जाँदा मैले पनि कहिलेकाहीं खेल्थें । एक दिन एकेडेमीको कोचले मेरो बुवासँग कुरा गर्दै तिम्रो छोरीसँग पनि क्रिकेट खेल्ने क्षमता छ, खेलाउनुपर्यो भन्नुभयो,’ पूजाले क्रिकेट करिअरको सुरुवाती दिन सम्झँदै भनिन्, ‘बुवाले तिमीले पनि खेल्नुपर्छ भन्नुभयो, त्यसले मलाई झन सिक्ने हौसला मिल्यो । मैले पनि क्रिकेट प्रशिक्षण गर्न थालें ।’
पूजाको नेपाल आगमनको प्रसंग पनि भाइसँगै जोडिएको छ । भाइले यु–१५ क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको थियो । एउटा खेलमा उनको भाइले प्लेयर अफ द म्याच अवार्ड पाएको थियो । उक्त अवार्ड प्रदान गर्नेमा हालका क्यान उपाध्यक्ष रोशनकुमार सिंह थिए । उनै सिंहलाई भाइले आफ्नी दिदी पूजा र आरतीले पनि क्रिकेट खेल्ने सुनाएका थिए । दिल्लीबाट पूजाले क्रिकेट खेल्दै गरेको भिडियो सिंहलाई पठाइदिए । त्यसपछि रोशनले पूजालाई दिल्लीबाट झिकाएका थिए । तत्कालीन क्यान कोषाध्यष सिंहले नै आफूलाई नेपाली क्रिकेटमा प्रवेश गराएको सुनाउँछिन् पूजा ।
पूजाले मलेसियामै भएको आईसीसी टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरमा हङकङविरुद्ध सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । उक्त खेलमा उनले ३ ओभर बलिङ गर्दै १ मेडनसहित ५ रनमात्र खर्चेर १ विकेट लिइन् । ओपनिङ ब्याटिङमा १८ बल खेल्दै १६ रन पनि बनाइन् ।
राष्ट्रिय टोलीबाट २० खेलमा १४ इनिङ्स ब्याटिङ गरेकी पूजाले एक अर्धशतकसहित १८५ रन बनाएकी छन् । बलिङतर्फ १९ इनिङ्समा १६ विकेट लिएकी छन् । उनकै कप्तानीमा नेपालले उमेर समूहमा ऐतिहासिक रूपमा आईसीसी टी–२० विश्वकप खेल्यो । नेपाल विश्वकपमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासम्मिलित समूह ‘डी’मा परेको थियो ।
नेपालले समूह चरणको एउटै खेल जित्न नसके पनि प्रभावशाली प्रदर्शन गरेको थियो । व्यक्तिगत रूपमा पूजाले स्कटल्यान्डविरुद्ध २७ रन र अस्ट्रेलियाविरुद्ध तीन विकेट लिनुका साथै १८ रन बनाएकी थिइन् । पूजाकै कप्तानीमा नेपालले यू–१९ महिला एसिया कप खेलेको थियो, जहाँ पाकिस्तानलाई पराजित गर्दै नेपाल अघिल्लो चरणसम्म पुग्न सफल भएको हो ।
ब्याटिङ, बलिङ र कप्तानीमा अब्बल बनिरहेकी उनै पूजा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छन् । अवार्डका लागि मनोनीत हुनुलाई मिहिनेत, समर्पण र क्रिकेटप्रतिको लगनले मान्यता पाएको बताउँछिन् पूजा ।
मनोनयनले आफूमाथि थप जिम्मेवारी थपेको बताउने उनी क्यान पदाधिकारी, प्रशिक्षक, परिवार, साथीभाइ, समर्थक र सबै क्रिकेटप्रेमीलाई धन्यवाद दिन चाहन्छिन् । ‘मनोनयनले परिवारमा थप खुसी ल्याएको छ । मेरा लागि परिवारको साथ नै ठूलो प्रेरणा हो, आमाबुवाको खुसी मेरा लागि उर्जा हो,’ पूजा भन्छिन्, ‘समर्थकले माया गरेर यहाँसम्म पुर्याउनुभएको छ, सबैले फेरि एक पटक मलाई भोट गरिदिनुहोला । यहाँहरूको भोटले मलाई अझै मिहिनेत गर्न प्रेरणा दिनेछ । त्यही प्रेरणाले तपाईं सबैलाई गर्व गर्ने मौका दिन सकुँ भन्ने मेरो चाहना हो ।’ अहिलेसम्म क्रिकेट खेलाडी पिपल्स च्वाइसको मनोनयनमा परे पनि अवार्ड जित्न सकेका छैनन् । त्यसले गर्दा पूजा क्रिकेटबाट यो अवार्ड जित्ने पहिलो बन्न चाहन्छिन् । भन्छिन्, ‘यो अवार्ड जितेर मलाई थप गर्व गर्ने मौका दिनुस् ।’
अवार्ड विजेताको छिनोफानो भदौ २९ गते पोखरामा हुनेछ । पूजाको प्रतिस्पर्धीमा उसुका विजय सिंजाली, टेबलटेनिसकी इभाना थापामगर, फुटबलकी रेखा पौडेल र भलिबलका हिमाल सुनारी छन् । विजेताको निर्णयमा डिजिटल वालेट खल्ती आईएमई एपमार्फत आउने मतको ५० प्रतिशत, फेसबुक लाइकको २५ प्रतिशत, खेलपत्रकार र प्रशिक्षकको २५ प्रतिशत मतभार रहनेछ ।
