इभानाको परीक्षा

दुई वर्षअघि आफनै गुरु रहेकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्डको उपाधि जित्दा इभानाले पनि त्यही अवार्ड जित्ने सपना बुनेकी थिइन् । इभाना अहिले त्यही सपना साकार पार्ने क्षणमा आइपुगेकी छन् ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Ivana's test

What you should know

काठमाडौँ — नेपालमा कम उमेरमा सफलता पाउने र सबैतिर चर्चा बटुल्ने थोरै मात्र खेलाडी भेटिन्छन् । त्यस्तै खेलाडीमा पर्छिन् टेबलटेनिसकी खेलाडी इभाना थापा मगर । उनी अहिले टेबलटेनिस वरीयताको दोस्रो स्थानमा छिन् । १७ वर्षकी इभानालाई नेपाली महिला टेबलटेनिसको भावी स्टारको रूपमा हेरिएको छ । 

दुई वर्षअघि आफनै गुरु रहेकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्डको उपाधि जित्दा इभानाले पनि त्यही अवार्ड जित्ने सपना बुनेकी थिइन् । इभाना अहिले त्यही सपना साकार पार्ने क्षणमा आइपुगेकी छन् ।

यही भदौ २९ गते पोखरामा आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा इभाना पनि पिपल्स च्वाइस विधाका प्रतिस्पर्धीमध्ये एक हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय टेबलटेनिसमा लगातार सानदार प्रदर्शन गरेपछि इभाना यसपालि नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डको मनोनयनमा परेकी थिइन् । 

कम उमेरमा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जितिसकेकी इभाना गत वर्ष पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिसको अन्तिम छनोटमा सहभागी थिइन् । नेपालबाट पुरुष र महिला विधामा शीर्ष दुई–दुई खेलाडीले भाग लिँदा इभाना पनि थिइन् । नेपालका शीर्ष २० खेलाडी सहभागी छनोट प्रतियोगिताको शीर्ष दुईमा रहेर उनी ओलम्पिकको अन्तिम छनोट खेल्न योग्य भएकी थिइन् ।

कम उमेरमा इभानाले ओलम्पिक छनोटमात्र खेलिनन्, बंगलादेश र श्रीलंका खेलाडीलाई हराएर सेमिफाइनलसम्म पुगेकी थिइन् । ओलम्पिकमा छनोट हुन नसके पनि इभाना त्यो असफलतालाई मीठो अनुभव ठान्दै भन्छिन्, ‘मेरो अबको सपना २०२८ को लस एन्जल्स ओलम्पिक हो । छनोट भएरै खेल्छु भन्ने आत्मविश्वास छ ।’ 

इभाना ओलम्पिक छनोटलगत्तै दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा खेल्न श्रीलंकाको क्यान्डी पुगिन् । त्यहाँ पनि इभानाले वियन्का राईसँग मिलेर यू–१९ डबल्समा नेपाललाई रजत पदक दिलाइन् । वैशाखमा नेपालमै आयोजित दक्षिण एसियाली युथ टेबलटेनिसमा उनले गर्ल्स डबल्स र टिम इभेन्टमा रजत तथा गर्ल्स सिंगल्स र मिक्स डबल्समा कांस्यसहित चार पदक जितेकी थिइन् ।

गत वर्ष काजकिस्तानमा सम्पन्न २७ औं एसियाली टेबलटेनिसमा च्याम्पियनसिपमा इभानाले घरेलु खेलाडीलार्ई हराएर आफ्नो क्षमता देखाइन् । सोही वर्ष उनले उज्वेकिस्तानमा एसियन युथ च्याम्पियनसिप र बहराइनमा आईएसएफ स्कुल ओलम्पिक्सको अनुभव पनि लिइन् । 

इभाना स्कुल स्पोर्ट्सबाट उदाएकी खेलाडी भन्दा फरक पर्दैन । आदर्श विद्या मन्दिर (एभीएम) की सान बनिरहेकी इभानाको ललितपुरस्थित एभीएम स्कुल घरेलु टेबलटेनिसको शीर्ष टिम बनिसकेको छ । इभानाको घर एभीएमनजिकै छ । सात वर्षअघि घरबाहिर साइक्लिङ गरिरहँदा प्रशिक्षक पुरुषोत्तम वज्राचार्य र सिनियर खेलाडी सिक्का सुवालले टेबलटेनिस खेलाएको सम्झना इभानालाई ताजै छ । त्यसपछि उनै वज्राचार्यको छत्रछायाँमा इभानाले फक्रने अवसर पाइन् ।

जुनियर स्तरमा इभानाले थुप्रै उपाधि जितिन् । १३ वर्षकै उमेरमा इभाना राष्ट्रिय टेबलटेनिस टिममा परिन्, जुन नेपाली टेबलटेनिसका लागि कीर्तिमान हो । त्यसपछि इभानाले पछाडि फर्कनु परेन । यसबीच इभानाले कतार र दक्षिण कोरियामा गरी दुई एसियन च्याम्पियनसिपका साथै हाङचाउ एसियाडमा खेलेकी छन् । वर्ल्डकप रिजनल क्वालिफाइङ र ओलम्पिक छनोट खेलिन् । नेपाल र श्रीलंकामा खेल्नुअघि नै माल्दिभ्समा भएको दक्षिण एसियाली जुनियर टेबलटेनिसमा पदक जितिसकेकी थिइन् । सो प्रतियोतिगामा इभानाले बियन्का राईसँग मिलेर दुई रजत पदक जितेकी हुन् । यो गौरव नेपालका लागि पहिलो थियो ।

इभानाले आफ्नो खेलजीवनको टर्निङ प्वाइन्ट कोभिड महामारीको समय मान्छिन् । एक पटक उनी तेस्रो स्थानमा सीमित हुँदा दक्षिण कोरियामा भएको टेबलटेनिसको प्रशिक्षण कार्यक्रममा सहभागी हुनबाट वञ्चित भइन् । शीर्ष दुई खेलाडीलाई मात्र उक्त वैदेशिक टुरमा सहभागी गराइयो । जसले इभानाको चित्त दुख्यो । उनले त्यसपछि कोभिडको समयमा कडा मिहिनेत गर्न थालिन् । झन् उनको प्रतिभा निखारियो ।  

इभाना आफ्नो यस खेल यात्रा समुधुर रूपमा बग्नुको श्रेय गुरु पुरुषोत्तम, सिक्कासहित एभीएम स्कुल र स्विस प्रशिक्षक पाभेल रेहोरेकलाई दिन्छन् । प्रशिक्षक वज्राचार्य इभानालाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम राख्ने खेलाडीको रूपमा लिन्छन् । भन्छन्, ‘उनी टेक्निकली र मेन्टली निकै बलियो छिन् । महत्त्वपूर्ण समयमा कसरी अंक निकाल्नुपर्छ इभानालाई थाहा छ । ब्याकह्यान्ड इभानाको सबैभन्दा सशक्त पक्ष हो ।’ 

पिपल्स च्वाइसमा पर्दा खुसी र उत्साही इभाना केही दबाबमा पनि छिन् । उनी भन्छिन्, ‘अहिलेसम्म पिपल्स च्वाइसको मनोनयनमा टेबलटेनिसका चार खेलाडी नविता श्रेष्ठ, श्यान्टु श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल परेको इतिहास छ । त्यसमा सबैले उपाधि जितेका छन् । त्यसैले यस विधामा टेबलटेनिसको यो वर्चस्व कायम राख्न सक्छु कि सक्दिनँ भन्ने कुरालाई लिएर इभाना अलि चिन्तित देखिन्छन् । तर, उनी टेबलटेनिसलाई माया गर्ने सबैबाट साथ र सहयोग पाउनेमा थप आशावादी पनि रहेकी छन् ।

इभानाले पिपल्स च्वाइस अवार्डमा टेबलटेनिसको अधिपत्य कायम राख्न यसपालि फुटबलकी रेखा पौडेल, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी र उसुका विजय सिंजालीजस्ता शीर्ष खेलाडीलाई पार लगाउनुपर्नेछ ।

कान्तिपुर

Link copied successfully