राप्तीसँग चर्च ब्वाइजको हार

सरिताकुमारी नाथको आत्मघाती गोलसँगै मनीषा सेनको गोलले राप्तीलाई २-१ को महत्त्वपूर्ण जित दिलायो।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Church Boys' loss to Rapti

काठमाडौँ — चर्च ब्वाइजले एन्फा वुमेन्स लिग छनोट २०८२ मा बुधबार पहिलो हार बेहोरेको छ । समूह ‘ए’ को च्यासलमा भएको खेलमा राप्तीले उसलाई २–१ ले हराएको हो । यो जितसँगै राप्ती चर्च ब्वाइजलाई नै उछिनेर यो समूहको शीर्ष स्थानमा उक्लेको छ ।

यो जितपछि राप्तीको १३ अंक भएको छ । उसले आफ्नो सबै खेलको यात्रा पनि टुंग्याएको छ । उसको पछाडि चर्च ब्वाइज १२ अंकमा छ । यस्तै समान १२ अंकमै आरएस रिसोर्ट रहेको छ । त्यसको पछाडि छहारी १० अंकमा रहेको छ । राप्तीको पहिलो गोल आत्मघाती रह्यो ।

सरिताकुमारी नाथले १४ औं मिनेटमा चर्च ब्वाइजको आफ्नै पोस्टमा गोल गरिन् । त्यसपछि मनीषा सेनले ६१ औं मिनेटमा दोस्रो गोल थपिन् । दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा वर्षा ओलीले चर्च ब्वाइजका लागि एक गोल फर्काइन् ।

 समूह ‘बी’ को खेलमा भने एनआरटीले बुटवल–लुम्बिनीलाई २–० ले हरायो । आफ्नो अन्तिम तथा छैटौं खेल खेलेको बुटवल–लुम्बिनी छ अंकमै सीमित रहेर घर फर्किने भएको छ । एनआरटीको भने १२ अंक भएको छ र उसको छनोट सम्भावना कायम रह्यो । 

कान्तिपुर

Link copied successfully