नेपाली खेलाडी विजय सिंजालीले थाउलो विश्वकपमा कांस्य पदक जितेर उसुमा ऐतिहासिक सफलता प्राप्त गर्दै सरकारबाट ६५ लाख रुपैयाँ पाएका छन्।
What you should know
काठमाडौँ — उसुका हरेक प्रदर्शनी खेलको स्टेजमा एउटा ‘फुच्चे केटो’ जहिल्यै सबैको ध्यान तान्न सफल हुन्थे । लचिलो ज्यान र उस्तै खालको ‘डेमो’ दिने भएकाले उनी सबैको प्यारो बन्दै गए ।
तिनै फुच्चे केटो विजय सिंजालीले विश्व च्याम्पियनसिपबाट पदक जितेर नेपाली उसुमा कीर्तिमान नै बनाए । गत अक्टोबरमा जापानको योकोहामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा कांस्य पदक जितेर विजयले इतिहास रचेका हुन् । आफ्नो विधामा ९ खेलाडीबीच प्रतिस्पर्धा हुँदा अमेरिका, मेक्सिको, बेलायतलगायत ६ देशका खेलाडीलाई पछि पार्दै उनले उक्त सफलता पाएका थिए ।
यही पदकका कारण विजय खेलकुद पुरस्कार कार्यविधिअनुसार नेपाल सरकारबाट पाउने ६५ लाख रुपैयाँबाट पुरस्कृत भइसकेका छन् । नेपाली खेलकुदमा विश्व च्याम्पियनसिपमा पदक जितेर सरकारबाट ठूलो रकम पाउने एक्लो खेलाडी बने ।
सन् २०१६ मा भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा विजय रजत पदकसम्म पुगेका थिए । तर साग स्वर्णको हुटहुटीले उनलाई आराम गर्न दिएन । अन्ततः उनले नेपालमै सम्पन्न १३ औं सागमा थाउलो विधामा ९.४८ अंक हासिल गर्दै स्वर्ण जित्ने सपना पूरा गरे । स्वर्णले उनको उचाइ थप चुलियो ।
निकै फर्ममा रहेका विजय त्यतिमै रोकिने स्वभावका थिएनन् । एकपछि अर्को सफलताका कारण चर्चित बनिरहेका विजय नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वार्षिक रूपमा आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् ।
‘मैले यो अवार्डमा ८–१० वर्षसम्म ‘स्टेज शो’ गरेको छु । त्यतिबेला म पनि कुनै दिन मनोनयनमै पर्छु होला भन्ने सपना देख्थें । अहिले मनोनीत हुन पाउँदा सपना पूरा भएजस्तै भएको छ,’ समर्थक, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा विजेता चुनिने यो विधाको मनोनयनमा परेपछि विजयले भनेका थिए ।
विजय उसुबाट देशलाई पदक दिलाउन माहिर छन् । तर, कुनै कार्यक्रमको मञ्चमा बोल्नुपर्दा भने उनलाई सहज लाग्दैन । उनी आफ्नो कुरा सिधा राख्न रुचाउँछन् । भन्छन्, ‘हाम्रो देशमा मेरो खेल उसु त्यति चर्चित नहोला, जति फुटबल, क्रिकेट र भलिबल छ । यो नै वास्तविकता हो । तर मेरो मनोनयनले उसुलाई पनि चर्चामा ल्याउने छ भन्ने मलाई विश्वास छ ।’
त्यसो त थाउलो विश्वकपमा जितेको कांस्यले मात्रै विजयको करियरलाई न्याय गर्दैन । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर जसो पदक भित्र्याइरहेका खेलाडी हुन् । उनले साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा पनि कांस्य जितेका थिए । चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा शीर्ष आठभित्र पर्न सफल भएका छन् । त्यसकै आधारमा विजयले थाउलो विश्वकपमा स्थान बनाएका थिए । उनी एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका पनि प्रतिस्पर्धी खेलाडी हुन् ।
विजयले घरेलु प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गरिरहेका हुन्छन् । उमेरले २४ वर्षमात्रै पुगेका विजय आफ्नो खेलयात्रामा साथ दिने परिवार, साथी, प्रशिक्षकप्रति कृतज्ञ छन् । यसमा विभागीय टोली आर्मीले उनलाई बलियो साथ दिएको छ । पिपल्स च्वाइसको मनोनयनमा रहे पनि विजय नेपाली खेलकुदमा आफ्नो खेलको उपस्थिति अझ बलियो बनाउन प्रयासरत छन् । ‘उसु परिवारको साथ सदाझैं मेरो लागि महत्त्वपूर्ण हुनेछ,’ उनको अपेक्षा छ ।
पिपल्स च्वाइस अवार्डको विजेता चयन भोटिङबाट हुने गर्छ । त्यसमध्ये ५० प्रतिशत मतभार खल्ती आईएमईको भोटिङको हुनेछ । सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत छ । बाँकी २५ प्रतिशत मत पत्रकार र विभन्न खेलका मुख्य प्रशिक्षकहरूको हो ।
यसअघि उसुका लागि झरना गुरुङले बाजी मारिसकेकी छन् । अब पालो हो उसुकै अर्का खेलाडी विजय सिंजालीको ।
