मधेश युनाइटेडमा अनुबन्धन भएका नेदरल्याण्ड्सका खेलाडीहरू डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी भिनस्ट्रा सोमबार नेपाल आइपुगेका हुन्।
What you should know
काठमाडौँ — एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडमा अनुबन्धन भएका नेदरल्याण्ड्सका खेलाडीहरू नेपाल आइपुगेका छन् । नेदरल्याण्ड्सकी डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी भिनस्ट्रा सोमबार नेपाल आइपुगेका हुन् ।
१ सय ७५ सेमि अग्लो कदकी आर्डेमा अनुभवी सेटर हुन्, उनले नेदरल्याण्ड्सको शीर्ष क्लबहरूका लागि खेल्दै आएकी छिन् । आर्डेमाले आफ्नो करियरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव बटुलेकी छन्।
पछिल्लो समय उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । सन् २०२४ मा उनी नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसीप जित्न सफल पनि भइन् । १ सय ८७ सेन्टिमिटर अग्लो वेसेल्सको स्पाइक पहुँच ३०० सेमि र ब्लक पहुँच २ सय ९३ सेमि रहेको छ ।
२६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदै छिन् । हाल उनी सुडोसा–डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । वेसेल्सले नेदरल्याण्ड्सको यु–१९ र यु–२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व समेत गरेकी छन् ।
१ सय ८८ सेमि अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन् । उनी सन् २०२१ र ०२२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन् । सन् २०२४ मा उनले सुडोसा–डेस्टोका लागि नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भइन् ।
यी तिनै जना खेलाडीहरूलाई मधेश युनाइटेडका मालिक शर्मिला थापा, सिईओ खुशी सिवाकोटी, मुख्य प्रशिक्षक कोपिला उप्रेती र टिम म्यानेजर निजन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छन् भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन् । ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।
मधेश युनाइटेडका टोलीमा खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद र स्नेहा ठगुन्ना।
