बार्सिलोनाले लामिन यामलले पेनाल्टीबाट गरेको गोलको मद्दतले ४० औं मिनेटमा अग्रता लिएको थियो तर फ्रान पेरेजले भालेकानोका लागि ६७ औं मिनेटमा बराबरी गोल फर्काए ।
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रायो भालेकानोको हातबाट बराबरीको धक्का बेहोरेको छ ।
म्याड्रिडमा भएको खेल १–१ को बराबरीमा टुंगेको हो । बार्सिलोनाले लामिन यामलले पेनाल्टीबाट गरेको गोलको मद्दतले ४० औं मिनेटमा अग्रता लिएको थियो । तर फ्रान पेरेजले भालेकानोका लागि ६७ औं मिनेटमा बराबरी गोल फर्काए ।
गोलरक्षक जोन गार्सियाले शृंखलाबद्ध बचाउ गरेपछि मात्रै बार्सिलोना बराबरीको नतिजा निकाल्न सफल रहेको हो । यो नतिजापछि बार्सिलोना ७ अंकमा लिग तालिकाको चौथो स्थानमा रह्यो ।
रियल म्याड्रिड र एथलेटिको बिलबाओ तीन खेलबाट ९ अंक बटुलेर शीर्ष स्थानमा छन् । यस्तै भिल्लारियले ७ अंकमै तेस्रो स्थानमा छ । एथलेटिक्स बिलबाओले अर्को खेलमा रियल बेटिसलाई २–१ ले पराजित गर्न सफल रह्यो । इस्पनयोलले ओसासुनालाई १–० ले हरायो ।
