खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र विभिन्न फ्रेन्चाइज टिमका प्रमुख खेलाडी प्रतिस्पर्धी हुनेछन् ।
काठमाडौँ — दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग सुरु हुनु अघि पोखराको लेकसाइड हल्लनचोकमा भदौ १९ गते टिम राजेश र टिम धनराजबीच प्रदर्शनी भलिबल खेल हुने भएको छ ।
चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरका मेयर धनराज आचार्यको टिम निर्माण गरिएको छ । खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र विभिन्न फ्रेन्चाइज टिमका प्रमुख खेलाडी प्रतिस्पर्धी हुनेछन् ।
दुवै टिममा १२ खेलाडी रहनेछ । त्यसमा फ्रेन्चाइज टिमका टिम एम्बासडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, स्थानीय इन्फ्लुएन्सर र पोखराका भलिबलसँग सम्बन्धित व्यक्तिको प्रतिनिधित्व हुने आयोज इन्फिनिटी ड्रिम्सले जनाएको छ ।
कलाकारमा आना शर्मा, सनीषा भट्टराई र अदिती बुढाथोकी छन् भने प्रमुख खेलाडीमा अरुणा शाही, प्रगति नाथ, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी र उषा भण्डारीसहित विभिन्न टिमका विदेशी खेलाडीहरू सहभागी हुनेछन् ।
महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखराको बहुउद्देशीय कभर्ड हलमा हुनेछ । यस महिला फ्रेन्चाइज भलिबल लिगका लागि ६ टिमबाट खेल्न ९ देशका १८ खेलाडी नेपाल आएका छन् ।
