राप्तीले समूह 'ए' को खेलमा स्टुडेन्ट्सलाई ८–० ले पराजित गर्यो । यससँगै राप्तीको १० अंक भएको छ र समूहको दोस्रो स्थानमा उक्लेको छ ।
काठमाडौँ — राप्ती र झापाले एन्फा वुमेन्स लिग छनोट २०८२ मा आइतबार महत्त्वपूर्ण जित हात पारेका छन् । राप्तीले समूह 'ए' को खेलमा स्टुडेन्ट्सलाई ८–० ले पराजित गर्यो । यससँगै राप्तीको १० अंक भएको छ र समूहको दोस्रो स्थानमा उक्लेको छ । राप्तीको यो तेस्रो जित हो ।
यस समूहमा चर्च ब्वाइज १२ अंकमा शीर्ष स्थानमा छ । हारले स्टुडेन्ट्स ६ अंकमै सीमित रह्यो । समूह 'बी' को खेलमा भने झापाले बुटवल लुम्बिनीलाई २–१ ले हरायो । यो जितपछि उसको ९ अंक भएको छ र समूहको तेस्रो स्थानमा उक्लिन सफल रह्यो । उसको अगाडि संकटाको १२ र एनआरटीको ९ अंक छ ।
च्यासल मैदानमा भएको पहिलो खेलमा राप्तीका लागि रेबिका नेपालीले ह्याट्रिक गरिन् । उनले ५, ३२ र ८४ औं मिनेटमा गोल गरिन् । यस्तै डिना नेपालीले ५६ र ८० औं मिनेटमा दुई गोल गरिन् । मेनुकाकुमारी आलेमगरले ३४, माया मास्केले ९० र मन्जु डोङले थप एक एक गोल गरे ।
दोस्रो खेलमा भने बुटवल लुम्बिनीले नै अग्रता लिएर त्यसलाई कायम गर्न सकेको थिएन् । उसका लागि अन्सु लिम्बूले ५१ औं मिनेटमा गोलको खाता खोलिन् । त्यसपछि इमा राईले ७२ औं मिनेटमा बराबरी गोल फर्काइन् । झापाको निर्णायक गोल भने अस्मिता गुरुङको नाममा रह्यो । उनले ७८ औं मिनेटमा गोल गरिन् ।
