तेक्वान्दोमा बाबु–छोरालाई स्वर्ण

स्वस्तिक तेक्वान्दो डोजाङका प्रशिक्षकसमेत रहेका ३० वर्षमाथिको समूहका खेलाडी प्रेमकुमारले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई स्वर्ण पदक जिते । १२ वर्षमुनिको ग्रुप पुम्सेतर्फ पलसनले स्वर्ण जितेका हुन् ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Gold for father and son in Taekwondo

What you should know

काठमाडौँ — तेक्वान्दोको एउटै प्रतियोगितामा बाबु–छोराले नै स्वर्ण पदक जितेका छन् । यही भदौ १२ देखि १५ सम्म ललितपुरको सातदोबाटोस्थित एनटीए हलमा सम्पन्न चौथो एनटीए लिग राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वस्तिक तेक्वान्दो डोजाङका प्रेमकुमार दर्नाल र उनका छोरा पलसन दर्नालले आआफ्नो उमेर समूहमा स्वर्ण जितेका हुन् ।

स्वस्तिक तेक्वान्दो डोजाङका प्रशिक्षकसमेत रहेका ३० वर्षमाथिको समूहका खेलाडी प्रेमकुमारले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई स्वर्ण पदक जिते । १२ वर्षमुनिको ग्रुप पुम्सेतर्फ पलसनले स्वर्ण जितेका हुन् । उक्त डोजाङका  खेलाडीहरूले सानदार प्रदर्शन गर्दै ७ स्वर्ण, ५ रजत र ६ कांस्य पदक आफ्नो नाममा दर्ता गर्न सफल भएका छन् ।

१० वर्षमुनिको व्यक्तिगत पुम्सेतर्फ प्रसिद्ध तामाङले स्वर्ण जिते भने १४ वर्षमुनिको व्यक्तिगत पुम्सेतर्फ आयुष मोतेले पनि स्वर्ण पदक हात पारे । १२ वर्षमुनिको पियर पुम्सेतर्फ सुमन तामाङ र युनिशा रानामगरको जोडीले स्वर्ण पदक जित्न सफल भए । १० वर्षमुनिको ग्रुप पुम्सेतर्फ प्रसिद्ध तामाङ, रोमन लोप्चन र प्रमित परियारले स्वर्ण पदक जिते । १२ वर्षमुनिको ग्रुप पुम्सेतर्फ पलसन दर्नाल, आदि थापा मगर र सुमन तामाङले पनि स्वर्ण जित्दै डोजाङलाई थप सफलता दिलाए ।

रजततर्फ १२ वर्षमुनिको व्यक्तिगत पुम्सेतर्फ महिलामा युनिशा रानामगर दोस्रो स्थानमा रहिन् भने पुरुषतर्फ सुमन तामाङले रजत जिते । १२ वर्षमुनिको महिला ग्रुप पुम्सेतर्फ लक्ष्मी न्यौपाने, अर्लिना चौधरी र युनिशा रानामगरको टोलीले रजत जित्न सफल भयो । ८७ केजीमाथिको गिरोगीतर्फ अंकितजंग थापा उपविजेता बने भने २६ किलो तौल समूहमा सुमन तामाङले पनि दोस्रो स्थान हासिल गरे ।

१० वर्षमुनिको व्यक्तिगत पुम्सेतर्फ रोमन लोपचन तेस्रो भए भने महिलातर्फ मारिका राना तेस्रो स्थानमा रहिन् । १२ वर्षमुनिको महिला व्यक्तिगत पुम्सेतर्फ अर्लिना चौधरीले कांस्य जितिन् । यस्तै, १४ वर्षमुनिको पियर पुम्सेतर्फ समृद्धि अधिकारी र आयुष मोतेको जोडीले स्वर्ण जित्दा १७ वर्षमुनिको पियर पुम्सेतर्फ एरिका माझी र दिपेश श्रेष्ठले कांस्य जित्न सफल भए । १० वर्षमुनिको पियर पुम्सेतर्फ प्रसिद्ध तामाङ र मारिका रानाको जोडीले पनि कांस्य पदक हात पारे ।

कान्तिपुर संवाददाता

Link copied successfully