ब्राइटनले उपाधिको दाबेदार सिटीलाई आइतबार २–१ ले पराजित गर्यो ।
लन्डन — म्यानचेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेको छ । ब्राइटनले उपाधिको दाबेदार सिटीलाई आइतबार २–१ ले पराजित गर्यो । सिटी अघिल्लो खेलमा टोटनहमसँग २–० ले पराजित भएको थियो ।
दुई वैकल्पिक खेलाडीको गोलमा ब्राइटनले विजय हात पारेको हो । एर्लिङ हलान्डको पहिलो हाफ गोलमा सिटीले अग्रता लिएको थियो । तर ६० औं मिनेटमा मैदानमा प्रवेश गरेका भेट्रान मिडफिल्डर जेम्स मिल्नरले ६७ औं मिनेटमा पेनाल्टी गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए ।
अर्का वैकल्पिक खेलाडी ब्राजन ग्रुडाले ८९ औं मिनेटमा ब्राइटनबाट विजयी गोल गरे । ब्राइटनको यो पहिलो जित हो र टोलीको ४ अंक रहेको छ । सिटीले भने तीन खेलमा दोस्रो हार बेहोरेको हो । गत सिजनमा पनि कमजोर प्रदर्शन गरेको सिटीको यस हारपछि टोलीका व्यवस्थापक पेप ग्वार्डिओलामाथि दबाब थपिएको छ ।
अन्तिम ६ मिनेटमा तीन गोल गरेपछि वेस्ट ह्यामले नोटिङ्घम फरेस्टलाई ३–० ले पराजित गरेको छ । जारेड बोवेनले ८४ औं मिनेटमा गोलको खडेरीलाई तोडेपछि वेस्ट ह्यामबाट लुकास पाक्विटाले ८८ औं मिनेटमा पेनाल्टीबाट दोस्रो र कालुम विल्सनले इन्ज्युरी टाइममा तेस्रो गोल गरे ।
