आयोजक ग्रिनल्यान्डको कोर्टमा शनिबार सिनियर ब्वाइज फाइनलमा वरदान थापाले २७ स्कोरमा टीआईएले न्युटनलाई ६७–६१ स्कोरले हरायो ।
काठमाडौँ — टीआईए, गोल्डेनपिक र भ्याली पब्लिकले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टीआईए सिनियर ब्वाइज, गोल्डेनपिक जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बन्यो ।
आयोजक ग्रिनल्यान्डको कोर्टमा शनिबार सिनियर ब्वाइज फाइनलमा वरदान थापाले २७ स्कोरमा टीआईएले न्युटनलाई ६७–६१ स्कोरले हरायो ।
गोल्डेनपिकले जेबी स्कुललाई २९–२१ ले हराएर जुनियर ब्वाइजको उपाधि जित्यो । गोल्डेनपिकका अग्रज राईले १२ स्कोर गरे । भ्याली पब्लिकले केभीकेएसएसलाई २९–२२ स्कोरले पराजित गर्दै गर्ल्सको उपाधि जित्दा दृश्य गुरुङले १० स्कोरको योगदान गरिन् ।
सिनियरमा टीआईएका रोशन नगरकोटी, जुनियरमा गोल्डेनपिकका फुर्वा शेर्पा र गर्ल्समा भ्यालीकी अनिता गुरुङ मोस्ट भ्यालुएबल प्लेयर भए । न्युटनका युगेन लामा, ग्रिनल्यान्डका वियोन गुरुङ र केभीकेएसएसकी खुसी मितोक आफ्नो विधामा उत्कृष्ट थ्री प्वाइन्टर चुनिए ।
सिनियरमा न्युटनका उज्ज्वल श्रेष्ठ, जुनियरमा जेबीका गौरव ओली र गर्ल्समा ग्रिनल्यान्डकी प्रसिद्धि भण्डारी सर्वाधिक स्कोरकर्ता भए ।
विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ, प्याब्सन सदस्य प्रल्हाद खनाल, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी र ओडिसी एकेडेमीका प्रिन्सिपल नारायण रोकाले पुरस्कृत गरे ।
