रोहितले अविजित १ सय १ रन बनाएपछि नेपालले २ सय ४३ रनको लक्ष्य ४५ ओभरमा छोट्याइएको खेलमा ५ बलअघि पूरा गरेको थियो । नेपाललाई अन्तिम ओभरमा ३ रन चाहिँदा सोमपाल कामीले नोह म्याकफाडेनको बलमा छक्का प्रहार गरेका थिए ।
What you should know
काठमाडौँ — कप्तान रोहित पौडेलको अविजित शतकमा नेपालले शनिबार जितसहित अस्ट्रेलिया भ्रमण टुंग्याएको छ । नेपालले डार्बिनमा साउथ अस्ट्रेलियालाई एकदिवसीय खेलमा २ विकेटले पराजित गर्यो ।
रोहितले अविजित १ सय १ रन बनाएपछि नेपालले २ सय ४३ रनको लक्ष्य ४५ ओभरमा छोट्याइएको खेलमा ५ बलअघि पूरा गरेको थियो । नेपाललाई अन्तिम ओभरमा ३ रन चाहिँदा सोमपाल कामीले नोह म्याकफाडेनको बलमा छक्का प्रहार गरेका थिए ।
रोहित र सोमपालले नवौं विकेटका लागि ६१ बलमा अविजित ८५ रनको साझेदारी गरेर नेपाललाई जिताए । रोहितले १ सय १ बलमा ९ चौका प्रहार गरे । दसौं नम्बरमा ब्याटिङ गरेका सोमपालले ३० बलमा १ चौका र ३ छक्कासहित अविजित ४० रनमा रहे ।
दुवै टोलीले आफ्नो सम्पूर्ण खेलाडीलाई ब्याटिङ र बलिङमा ओरालेका थिए । ओपनरद्वय कुशल भुर्तेल ३७ बलमा ४ चौका र १ छक्कासहित २८ तथा आसिफ शेख १५ बलमा २ चौकासहित ११ रनमा आउट भए । भीम सार्की १, आरिफ शेख ३, दीपेन्द्रसिंह ऐरी ९, लोकेश बम २, रुपेश सिंह शून्यमा आउट भए । गुलशन झाले ४० बलमा १ चौका र २ छक्कासहित ३६ रन बनाए । साउथ अस्ट्रेलियाबाट टम मेन्जीले ८ ओभरमा २ मेडन राख्दै २५ र ह्यारी मानेन्टीले १० ओभरमा ४३ रन खर्चेर ४–४ विकेट लिए ।
यसअघि साउथ अस्ट्रेलिया पूरा ४५ ओभर खेल्दै २ सय ४२ रनमा अलआउट भयो । ओपनर जोडी हार्भी म्याकेन्जी र डाउटजी हुगनबोइजेमले राम्रो सुरुआत दिलाए पनि घरेलु टोलीले त्यसको फाइदा उठाउन सकेन । म्याकेन्जी २० बलमा ५ चौकासहित २४ रन बनाए । हुगनबोइजेमले ६६ बलमा ५ चौका र १ छक्कासहित ५३ रन बनाए ।
मध्यक्रममा मानेन्टी र रायन किङले पाँचौ विकेटमा ७६ रनको साझेदारी गरे । मानेन्टीले ६८ बलमा ४ चौका र २ छक्कासहित ६३ तथा किङले ४० बलमा समान २ चौका र छक्कासहित ३५ रन बनाए । नेपालका नन्दन यादव र सोमपालले ३–३ विकेट लिए । नन्दनले ५ ओभरमा १ मेडन राख्दै १५ र सोमपालले ५ ओभरमा २१ रन खर्चे । रुपेश, सन्दीप लामिछाने र शाहब आलमले १–१ विकेट लिए ।
