मिलानले दोस्रो हाफमा रुबेन लोफ्टस चेक र क्रिस्टियन पुलिसिचको गोलले लेसेलाई २-० ले हराउँदै तीन अंक जोडेको छ।
काठमाडौं — एसी मिलान र भ्यालेन्सियाले शुक्रबार राति नयाँ सिजन लिगमा पहिलो जित निकालेका छन् ।
मिलानले इटालीको सिरी ए मा लेसेलाई २–० ले हराएको हो । मिलानले दुवै गोल दोस्रो हाफ गरेको थियो । रुबेन लोफ्टस चेकले ६६ औं मिनेटमा पहिलो गोल गरे ।
त्यसपछि क्रिस्टियन पुलिसिचले ८६ औं मिनेटमा दोस्रो गोल थपे । यो जितपछि मिलानको दुई खेलबाट तीन अंक भएको छ । पछिल्ला साता लिगको आफ्नो पहिलो खेलमा मिलान क्रेमोन्सेसँग पराजित भएको थियो र यसलाई स्तब्धपूर्ण हार मानिएको छ ।
भ्यालेन्सियाले भने स्पेनी ला लिगामा गेटाफेलाई सजिलै ३–० ले हराएको हो । लिगका आफ्नो पहिलो खेलमा भ्यालेन्सिया बराबरीमा रोकिएको थियो । उसको अब दुई खेलबाट चार अंक भएको छ । भ्यालेन्सयाका लागि मोक्टर डिखाबेले ३० औं मिनेटमा गोलको खाता खोले ।
आरमट ग्रानेभेल्डले ५४ औं मिनेटमा दोस्रो गोल थपे । ह्युगो डोराले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेका हुन् ।
यस्तै जर्मन बुंडेसलिगाको शुक्रबारको खेलमा सेन्ट पउलीले ह्याम्बर्गलाई २–० ले हरायो भने फ्रान्सेली लिग वानमा लेन्सले ब्रेस्टमाथि ३–१ को जित रच्यो ।
