चेल्सीको विवादास्पद जित, स्पर्स स्तब्ध

फुलहमका जोश किङले गरेको सानदार गोल अमान्य गर्नुले चेल्सीको भाग्य खुलेको थियो । रोड्रिगो मुनिज संयोगले ट्रेभोह चलोबाघसँग ठोक्किन पुग्दा भीएआरले त्यसलाई फाउल दिएपछि किङले गरेको गोल उल्टाइदिएको थियो । फुलहमको निराशा यतिमै सीमित रहेन ।

भाद्र १५, २०८२

एएफपी

Controversial Chelsea win, Spurs stunned

लन्डन — चेल्सीले भीएआर विवादको फाइदा उठाउँदै शनिबार इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । इन्जो मारेस्काको टोली घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको लन्डन ‘डर्बी’ मा निकै भाग्यमानी रह्यो ।

फुलहमका जोश किङले गरेको सानदार गोल अमान्य गर्नुले चेल्सीको भाग्य खुलेको थियो । रोड्रिगो मुनिज संयोगले ट्रेभोह चलोबाघसँग ठोक्किन पुग्दा भीएआरले त्यसलाई फाउल दिएपछि किङले गरेको गोल उल्टाइदिएको थियो । फुलहमको निरासा यतिमै सीमित रहेन ।

पहिलो हाफमा थपिएको ८ मिनेट इन्ज्युरी टाइम खेलिसकेको एक मिनेटपछि जाओ पेड्रोले कर्नरबाट आएको बलमा हेड गोल गरेका थिए । फुलहमका व्यवस्थापक मार्को सिल्भा झन् क्रुद्ध हुन पुगे, जब रेफ्रीले रायन सेसेगननले बल हातले रोकेको भन्दै ५६ औं मिनेटमा पेनाल्टी दिए । त्यसमा इन्जो फर्नान्डेजले गोल गरी चेल्सीलाई २–० को अग्रता दिएका थिए ।

‘अविश्वसनीय गोललाई अमान्य गरियो, रोड्रिगोले कुल्चेको विषयमा भीएआरको निर्णय विश्वास गर्न योग्य थिएन,’ सिल्भाले भने, ‘दोस्रो गोलमा पेनाल्टी दिँदा हाम्रा खेलाडी स्क्रिन हेरेर हाँसेका थिए, किनभने त्यस अगाडि एलेक्स इओबीलाई कुल्चिएको थियो, जाओ पेड्रोले बल हातले छोएका थिए र जोचिम एन्डरसनलाई धकेलिएको थियो ।’

पहिलो दुई खेलमा कुनै गोल नखाई जित पाएको टोटनहम घरेलु मैदानमा बर्नमाउथसँग १–० ले स्तब्ध भयो । इभानिल्सनले खेलको पाँचौं मिनेटमा गरेको प्रहार डिफ्लेक्टेड भएर गोल हुँदा बर्नमाउथले महŒवपूर्ण जित हात पारेको थियो । टोटनहमको हारमा फाइदा उठाउँदै चेल्सी तालिकाको शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको ७ अंक छ ।

Controversial Chelsea win, Spurs stunned

ब्रुनो फर्नान्डेजले अन्तिम मिनेटमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२ ले पराजित गरेको छ । मध्यसातामा चौथो डिभिजनको टोली ग्रिम्सबीसँग पराजित भएर लिग कपबाट बाहिरिएको युनाइटेडका व्यवस्थापक रुबेन एमोरिमलाई यो जितले ठूलो राहत प्रदान गरेको छ ।

युनाइटेडले खेलमा दुई पटक अग्रता लिए पनि बर्नलीले दुवै पटक खेल बराबरीमा ल्याएको अवस्थामा फर्नान्डेजले इन्ज्युरी टाइमको सातौँ मिनेटमा विवादस्पद पेनाल्टीमा निर्णायक गोल गरेका थिए । तेस्रो खेलमा आएर युनाइटेडले पहिलो जित हात पारेको हो । २६ औं मिनेटमा कासेमिरोको हेड प्रहार बर्नलीका कप्तान जोस कुलेनले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि युनाइटेडले अग्रता लिएको थियो ।

ज्योब ब्रुन लार्सनको क्रसमा लिल फोस्टरले गोल गरेर बर्नलीलाई ५५ औं मिनेटमा बराबरीमा ल्याए । त्यसको १५ सेकेन्डपछि डिएगो डालोटको कटब्याकमा ब्रायन एमबेउमोले पुनः युनाइटेडलाई अग्रता दिलाए । जाडोन एन्थोनीले ६६ औं मिनेटमा पुनः बर्नलीबाट बराबरी गोल गरे । शनिबारका अन्य खेलमा सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ ले र एभरटनले उल्भसलाई ३–२ ले पराजित गरेका थिए । बर्नमाउथसँगै सन्डरल्यान्डको ६ अंक छ । 

एएफपी

Link copied successfully