भुटानको थिम्पुमा शुक्रबार भएको खेलमा भारतले नेपाललाई सजिलै ५–० ले पराजित गरेपछि उपाधि जित्ने निश्चित भएको हो ।
काठमाडौँ — भारतले एक चरणको खेल अगाडि नै यू–१७ वुमेन्स साफ च्याम्पिनयसिपको उपाधि जितेको छ ।
भुटानको थिम्पुमा शुक्रबार भएको खेलमा भारतले नेपाललाई सजिलै ५–० ले पराजित गरेपछि उपाधि जितेको हो । दोहोरो राउन्ड रोबिनको खेलमा भारतको यो पाँच खेलमा पाँचौं जित हो ।
यो जितपछि भारतको १५ अंक भएको छ र अब उसलाई दोस्रो स्थानमा रहेको बंगलादेशले उछिन्न सक्ने छैन । बंगलादेश भने १० अंकमा दोस्रो स्थानमा छ । शुक्रबारको पहिलो खेलमा बंगलादेशले भुटानविरुद्ध १–१ को बराबरी खेलेपछि भारतलाई सजिलो भएको हो ।
भुटानले यस बराबरीसँगै एक अंक बटुलेको छ । तर अंक तालिकाको पुछारमा छ । नेपालको तीन अंक छ र प्रतियोगितामा सहभागी टिममध्ये तेस्रोमा छ । अब प्रतियोगिताको अन्तिम दिन भारत र बंगलादेश तथा नेपाल र भुटान भिड्ने छन् ।
