संकटाको छनोटको संघारमा

संकटाले एन्फा वुमेन्स लिग छनोट ०८२ को शुक्रबार भएको समूह ‘बी’ को खेलमा लम्कीलाई ६–१ ले हरायो । संकटाले शतप्रतिशत जित निकाल्ने क्रममा च्यासलको मैदानमा पुनरागमन जित रचेको हो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

On the verge of a crisis of choice

What you should know

काठमाडौँ — संकटा एन्फा वुमेन्स लिगको छनोटको संघारमै पुगेको छ । छनोटको औपचारिकता पूरा गर्न बाँकी भनेको गणितीय सम्भावना मात्रै हो । संकटाले एन्फा वुमेन्स लिग छनोट ०८२ को शुक्रबार भएको समूह ‘बी’ को खेलमा लम्कीलाई ६–१ ले हरायो । संकटाले शतप्रतिशत जित निकाल्ने क्रममा च्यासलको मैदानमा पुनरागमन जित रचेको हो । संकटाका सबै छ गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

यो जितपछि उसको चार खेलबाट १२ अंक भएको छ । उसको पछाडि छ अंकमा नेपाल खेलकुद, बुटवल–लुम्बिनी, झापा एफसी र एनआरटी रहेका छन् । संकटाले अब आफ्ना अन्तिम दुई खेलमा नेपाल बेस्ट र एनआरटीको सामना गर्नेछ । नेपाल बेस्टविरुद्धको खेलबाट नै संकटाले छनोटको औपचारिकता पूरा गर्न सक्छ । लम्की भने तेस्रो हारसँगै एकै अंकमा सीमित रह्यो ।

तर संकटाविरुद्धको यस खेलमा अग्रता लिने काम भने उसैले गरेको थियो । मेनुका शाहीले लम्कीका लागि ४१ औं मिनेटमा गोल गरेकी थिइन् । यो अग्रता ५० मिनेटसम्म मात्र टिकेको थियो, जति बेला सुत्रिया मियाँले बराबरी गोल फर्काइन् । त्यसपछि आफ्नो व्यक्तिगत लय गुमाएकी पूर्णिमा राईले ५७ र ७८ औं मिनेटमा गोल गरिन् । छनोटमा उनले गोल गरेको यो नै पहिलो पटक हो ।

त्यसबाहेक संकटाका लागि रेनिशा शर्माले ७४, एनिशा राईले ८३ तथा सेनु परियारले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरिन् । त्यस अगाडि समूह ‘ए’ को खेलमा आरएस रिसोर्टले छहारीको अपराजित यात्रामा पूर्ण विराम लगाए र छनोटको समीकरणलाई खुल्ला गरेको थियो । छहारीलाई पहिलो हार चखाउने क्रममा आरएस ३–२ ले विजयी रह्यो । यो जितपछि आरएसको नौ अंक भएको छ ।

छहारी भने सात अंकमा रोकियो । यो समूहमा चर्च ब्वाइजको नौ, राप्तीको सात र स्टुडेन्ट्सको छ अंक रहेको छ । आरएसले ईशा चौधरी र गीता श्रेष्ठको गोलले अग्रता लिएको थियो । त्यसमध्ये ईशाले ३४ र गीताले ३६ औं मिनेटमा गोल गरे । छहारीको तर्फबाट त्यसपछि अस्मिता चौधरीले ४२ र ५६ औं मिनेटमा गोल गरिन् । निर्णायक गोल भने उषा शाहीको नाममा रह्यो, उनले ५५ औं मिनेटमा गोल गरिन् । 

कान्तिपुर

Link copied successfully