ग्रिम्सबाईसँग हार्दै युनाइटेड लिगकपबाट बाहिर

ब्लन्डेल पार्कमा भएको खेलमा युनाइटेड टाइब्रेकरमा १२–११ ले पराजित भएको हो ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

United out of the League Cup after losing to Grimsby

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले लिगकप दोस्रो चरणमा बुधबार लिग–टु क्लब ग्रिम्सबाईसँग स्तब्धपूर्ण हार बेहोदै प्रतियोगिताबाट बाहिरिएको छ ।

ब्लन्डेल पार्कमा भएको खेलमा युनाइटेड टाइब्रेकरमा १२–११ ले पराजित भएको हो । त्यस अगाडिको खेल २–२ को बराबरीमा रहेको थियो । यसमा पनि युनाइटेड दुई गोलले पछाडि रहेपछि खेलमा फर्केको हो ।

चार्ल्स भेरनाम र टेरेल वारेनको गोलले लिग–टु क्लबले सुरुआती आधा घण्टाको खेलपछि दुई गोलको अग्रता लिएको थियो । त्यसपछि सब्टिच्युट खेलाडी ब्रायन एमबेउमोले ७५ र ह्यारी म्यागुएरले ८९ औं मिनेटमा युनाइटेडका लागि गोल फर्काए ।

म्याथेस कुन्हा अन्तिम पेनाल्टी प्रहारमा चुकेपछि ग्रिम्सबाईको ऐतिहासिक जित सम्भव भएको हो । युनाइटेडका लागि एमबेउमोको प्रहार पनि पोस्टमा लागेको थियो । इंग्लिस प्रिमियर लिगमा पनि खराव सुरुआत लिएको युनाइटेड अहिलेको हारपछि चर्को दबाबमा आएको छ । 

कान्तिपुर

Link copied successfully