साफ यू-१७ च्याम्पियनसिप : नेपालको उपाधि सम्भावना समाप्त

थिम्पुमा जारी प्रतियोगितामा नेपालविरुद्ध बंगलादेशकी सौरभी प्रीतिको ह्याट्रिक गरिन्।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

SAFF U-17 Championship: Nepal's title chances are over

What you should know

काठमाडौँ — लगातारको खराब प्रदर्शनपछि नेपालको साफ यू–१७ महिला च्याम्पियनसिप जित्ने सम्भावना बुधबार समाप्त भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको दोस्रो लेगको पहिलो खेलमा नेपाली टिम बंगलादेशसँग ४–१ ले पराजित भएको हो । 

यसअघि पहिलो लेगमा पनि नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको थियो । बंगलादेश तेस्रो जितसँगै ९ अंकसहित समूहको दोस्रो स्थानमा रह्यो । नेपालको भने ४ खेलपछि ३ अंकमात्र रहेको छ । नेपाल तीन खेलमा पराजित भइसकेको छ । यो हारपछि नेपालको उपाधिमाथि चुनौती सकिएको हो । 

बंगलादेशको जितमा सौरभी प्रीतिले ह्याट्रिक गरिन् । सौरभीले थुनुय मार्माको गोलबाट ३८ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि शौरभीले ४४, ७१ र ८६ औं मिनेटमा गोल गरिन् । नेपालबाट सम्भव भएको एकमात्र गोल कप्तान भूमिका बुढाथोकीको नाममा रह्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेकी थिइन् । 

यसपल्टको प्रतियोगितामा कुल ४ टिमको सहभागिता रहेको छ । ती टिमले डबल राउन्ड रोबिनको आधारमा खेलिरहेको छ । भारत ४ खेलबाट १२ अंकमा शीर्षस्थानमा छ । भारतले दिनको दोस्रो खेलमा आयोजक भुटानलाई ५–० ले हरायो । प्रतियोगिताको बाँकी खेलमा जस्तो नतिजा आए पनि नेपालले अब भारतलाई उछिन्न सक्ने छैन । 

भुटान भने लगातार चौथो हारसँगै अंकविहीन भएर पुछारमा रह्यो । अब उपाधिको होडमा भारत र बंगलादेश मात्र बाँकी छन् र यी दुईबीचको खेलले नै अब च्याम्पियन टिमको निर्णय गर्नेछ । 

नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले हारका बावजुत नेपाली टिमले सुधारिएको प्रदर्शन गरेको दाबी गरे । उनले भने, ‘बुधबार हाम्रा खेलाडी यसअघिको तुलनामा केही राम्रो खेले । जित्नैपर्ने खेल थियो, तर पाएका अवसरमा फाइदा लिन सकेनौं । त्यसकारण हामी पराजित रह्यौ । तर केही छैन, टिमको प्रदर्शन सुधारेर अगाडि बढ्ने छौं । बंगलादेशी खेलाडी तुलनात्मक रूपमा केही राम्रा देखिए ।’

‘अबका खेलमा हाम्रो जे–जति कमजोरी रह्यो, त्यसमा सुधारको प्रयास गर्नेछौं,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘हामीले चार खेलपछि नै उपाधि समीकरणबाट बाहिरिने सोच राखेका थिएनौं । तर हामी चारमध्ये तीन खेलमा पराजित रह्यौं । यसमा दुई खेल त बंगलादेशसँग नै रह्यो । अब दुई खेल बाँकी छ, त्यसमा राम्रो गर्ने प्रयास गर्नेछौं । टिमले जति सक्दो राम्रो खेल्नेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully