नेपालले १६१ रनको लक्ष्य पछ्याउँदै १५७ रन मात्र जोड्यो, अन्तिम बलमा बोल्ड भए।
What you should know
काठमाडौँ — साउथ अस्ट्रेलियासँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ । सेफिल्ड शिल्ड र एकदिवसीय च्याम्पियन टोली साउथ अस्ट्रेलियाले बिहीबारको दोस्रो खेलमा नेपाललाई ३ रनले पराजित गर्यो ।
डार्बिनमा बिहीबार नै भएको पहिलो खेलमा अन्तिम बलमा चौका प्रहार गर्दै साउथ अस्ट्रेलियाले नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।
अन्तिम ओभरमा जितका लागि १३ रन चाहिने अवस्थामा नेपालले ९ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरको पहिलो बलमा शाहव आलमले १ रन लिएका थिए भने दोस्रो बलमा करण १ रन बनाई आउट भए । पाँचौं बलमा शाहवले चौका प्रहार गरेर खेल रोमाञ्चक बनाए पनि खेलको अन्तिम बलमा शाहव ८ रन बनाई टिम ओएकलीको बलमा बोल्ड भएपछि १ सय ६१ रनको लक्ष्य लिएर आएको नेपाल पुरा ओभर खेली १ सय ५७ रनमा अलआउट भयो ।
ओपनरद्वय आसिफ शेख १ र कुशल भुर्तेल ११ रनमा आउट भए । भीम सार्कीले २६ बल खेली २ चौका र १ छक्कासहित २९ रन बनाए । कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १० रनमा आउट भए । लोकश बम र रुपेश सिंहले ६ ओभरमा ६४ रनको साझेदारी गरे । लोकेशले २६ बल खेली २ चौका र १ छक्कासहित ३२, रुपेशले १९ बल खेली ४ चौका र २ छक्कासहित ३७ रन बनाए ।
साउथ अस्ट्रेलियाका क्याम्पवेल थोम्सनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । म्याकफाडेनले ४ ओभरमा २९, ओएकलीले ४ ओभरमा ३१ र टम मेन्जीले ४ ओभरमा ३७ रन खर्चेर २–२ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६० रन बनाएको थियो । ओपनर म्याकेन्जी हार्भी ८ बलमा ११ रन बनाई आउट भए । अर्का ओपनर रायन किङले नेपालबाट सर्वाधिक ३४ रन बनाए । उनले १९ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । डी ड्रेवले २८ बल खेली २ चौका र हृयारी मानेन्टीले २२ बल खेली १–१ चौका र छक्कासहित समान २९ रन बनाए ।
नोए म्याकफाडेन २, डी हुगेनबोइजेम १४, ज्याक विन्टर १२ र कप्तान हृयारी म्याथ्युज ६ रन बनाई आउट भए । टी ब्राउन ९ बल खेली १२ रनमा अविजित रहे । नेपालबाट करण केसीले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । रुपेश सिंहले २ ओभरमा १५ र कुशल भुर्तेलले ४ ओभरमा २७ र दीपेन्द्रसिंह ऐरीले २ ओभरमा ११ रन खर्चेर १–१ विकेट लिए ।
