गुवाहटीमा भएको खेलमा नेपाल ३ विकेट गुमाएर ६४ रन बनाउँदा वर्षाले खेल रोकेपछि आसाम डकवर्थ लुइस नियमबाट विजयी बन्यो।
What you should know
काठमाडौँ — नेपाल ‘ए’ बिहीबार आसामविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १५ रनले पराजित भएको छ । नेपाल ‘ए’ ले टस जितेपछि ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९० रन बनाएको थियो ।
गुवाहटी स्थित एसीए सीए मैदान फुलुङमा जबाफमा आएको नेपालले ३ विकेट गुमाई ६४ रन बनाएको समयमा वर्षाले खेल बिथोलेपछि डकवर्थ लुइस पद्धतिका आधारमा आसाम क्रिकेट टोली विजय भएको हो ।
वर्षाले खेल रोकिदा शुभ कंसकार २१ बलमा ३३ र सन्दीप जोरा २ बलमा २ रन बनाई क्रिजमा थिए । शुभले ३ चौका र २ छक्का प्रहार गरे । इशान पाण्डे १, कप्तान अनिल साह १४ बलमा ४ चौका प्रहार गरी २० र पवन सर्राफ ९ बलमा ६ रन बनाई आउट भएका थिए । आसामका मृनमोय दत्त, अभिनव चौधरी र अभिलाष गोगोइले १–१ विकेट लिए ।
यसअघि आसामले अन्तिम २ ओभरमा ५१ रन जोड्दै विशाल योगफल बनाएको थियो । आकाश चन्दलाई १९ औँ ओभरमा आसामका अभिनव र आकाश सेनगुप्ताले ४ छक्का र १ चौकासहित ३१ रन तथा २० औँ ओभरमा सागर ढकाललाई ३ छक्कासहित २० रन प्रहार गरेका थिए । अभिनव ७ बलमा २६ र आकाश ८ बलमा २४ रन बनाई अविजित रहे ।
आसामबाट सुमित कस्यप २२, कप्तान सुमित घडिगावोनकर १६ बलमा ४ चौका र २ छक्कासहित ३४, साहिल जैन १७, अभिलास र आयुषमान मालाकार समान १३ तथा रोहित सेन २४ रन बनाई आउट भएका थिए । नेपालबाट आकाश चन्दले ४ ओभरमा ५२ रन खर्चेर ३ तथा कमलसिंह ऐरीले ४ ओभरमा ३५ र विवेक यादवले ४ ओभरमा ३२ रन खर्चेर २–२ तथा आदिल अलाम अन्सारीले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।
नेपाल ‘ए’ ले आसामसँग शुक्रबार दोस्रो खेल खेल्ने छ । ५ मध्येको ३ ट्वान्टी–२० खेल गुवाहटी स्थित एसीए रंगशालाको फ्लड लाइटमा खेलिने छ । इन्डियन प्रिमियर लिग क्रिकेटको सन् २०२० को संस्करणमा गुवाहटीलाई राजस्थान रोयल्सले दोस्रो घरेलु मैदानको रुपमा प्रयोग गर्दै दिल्ली क्यापिटल्स र कोलकात्ता नाइटराइडर्सविरुद्ध सो मैदानमा खेलेको थियो ।
