ब्वाइज र गर्ल्स दुवै विधामा गरी ६ फरक उमेर समूहमा हुने प्रतियोगितामा यू–१८, यू–१६, यू–१४, यू–१२, यू–१० र यू–८ तर्फका खेलाडीले भाग लिन पाउनेछन् ।
काठमाडौँ — नेपाल बुद्धिचाल महासंघले दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ युथ, क्याडेट तथा गर्ल्स चेस च्याम्पियनसिप भदौ १३ र १४ मा आयोजना गर्ने भएको छ ।
ब्वाइज र गर्ल्स दुवै विधामा गरी ६ फरक उमेर समूहमा हुने प्रतियोगितामा यू–१८, यू–१६, यू–१४, यू–१२, यू–१० र यू–८ तर्फका खेलाडीले भाग लिन पाउनेछन् ।
बुद्धिचाल महासंघको चेस ट्यालेन्ट हन्टका रूपमा हुने प्रतियोगितामा देशका ५ सयभन्दा बढी विद्यार्थी खेलाडी सहभागी रहने छ ।
३ लाख ३६ हजार पुरस्कार रहेको प्रतियोगिताका प्रत्येक विधाका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार पुरस्कार जित्नेछन् ।
दोस्रो नेसनल फ्रिडम एसियन चेस प्रतियोगिता सञ्चालन गर्न लाग्ने १० लाख खर्चमध्ये काजकिस्तान चेस फेडेरसनले नगद पुरस्कार सहयोग गर्ने महासंघले जनाएको छ ।
नेपाली चेस खेलाडीलाई प्रशिक्षण दिन काजकिस्तानका आईएम बख्तियार आस्कारोभ मंगलबार नेपाल आइपुगेका छन् । उनको १५ दिने चेस प्रशिक्षणबाट नेपालका २० राष्ट्रिय खेलाडी लाभान्वित छन् ।
प्रतियोगिताका लागि एफएसीआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजकिस्तान चेस फेडेरेसनका प्रथम उपाध्यक्ष जिएम दर्मेन सद्भाकासोभ नेपाल आउने छन् । विश्व बुद्धिचाल महासंघ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर जीएम भिक्टोर बोलोगन शुक्रबार नेपाल आउने छन् ।
