लिभरपुलको जितमा १६ वर्षीय रियो एन्गुमोहा निर्णायक रहे ।
What you should know
लन्डन — लिभरपुलका प्रशिक्षक आर्ने स्लटले इंग्लिस प्रिमियर लिग विश्व फुटबलमा सबैभन्दा लोकप्रिय हुनुको कारण सोमबार रातिको खेलले पस्कने रोमाञ्च र सनसनी रहेको बताएका छन् ।
उनले न्युकासल युनाइटेडमाथिको जितपछि भनेका छन्, ‘यस्तै खेलले प्रिमियर लिगलाई विशेष बनाउने हो । यो प्राविधिक रूपमा उत्कृष्ट खेल नहुन सक्छ, तर सबैले यो खेल हेरेर मज्जा लिएका छन् ।’ लिभरपुलको जितमा १६ वर्षीय रियो एन्गुमोहा निर्णायक रहे ।
उनले खेलको सय मिनेटमा गरेको गोल मदतमा लिभरपुलले न्युकासललाई ३–२ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भएका बेला नोमोहाले महत्त्वपूर्ण ३ अंकको गोल गरे । लिभरपुलले १० खेलाडीमा सीमित न्युकासलविरुद्ध सुरुमै गरेका दुई गोलको अग्रता गुमाएको थियो ।
रायन ग्राभेनवेख र हुगो एकिटिकेले लिभरपुलका लागि दुबै हाफमा १–१ गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा एन्टोनी गोर्डनले सिधा रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा सीमित भएको थियो । त्यसका बावजुद न्युकासलबाट ब्रुनो गुइमारेस र विलियम ओसुलाले गोल फर्काएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । यो जितपछि लिभरपुलको २ खेलबाट ६ अंक भएको छ । आर्सनल र टोटनहमले पनि लिगका सुरुआती दुवै खेल जितेका छन् । अब आइतबार हुने खेलमा आर्सनलले एनफिल्डको भ्रमण गर्नेछ ।
न्युकासल भने नयाँ सिजन अहिलेसम्म जितविहीन छ । लिभरपुलका कप्तान भर्जिल भान डाइकले पनि खेलपछि एन्गुमोहाको प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘ एन्गुमोहाले भर्खर आफ्नो खेल जीवन सुरु गरेका छन् । उनले आफ्नो कडा मिहिनेत कायम राख्नुपर्नेछ । मैले उनलाई भलाद्मी र कृतज्ञ रहन भनेको छु । यो खेलपछि उनलाई चाहे जस्तो गर्न छुट छैन ।’
इन्टरको दाबी
मिलान– इन्टर मिलानले इटालीको सिरी ‘ए’ उपाधिमाथि आफ्नो दाबी प्रस्तुत गर्ने क्रममा सोमबार टुरिनोलाई ५–० ले सजिलै पराजित गरेको छ । सान सिएरोमा भएको खेलमा इन्टरका लागि मार्कस थुरामले दुई गोल गरे । उनले प्रत्येक हाफमा एक–एक गोल गरे । एलेसान्द्रो बासटोनीले १८ औं मिनेटमा गोलको खाता खोले । लाउटारो मार्टिनेज र नयाँ खेलाडी एन्गे योन बोनीले पनि गोल थपेका थिए ।
यसपल्टको लिग उपाधि होडमा डिफेन्डिङ च्याम्पियन नेपोलीविरुद्ध सबैभन्दा बलियो चुनौती इन्टरले नै प्रस्तुत गर्ने अनुमान गरिएको छ । गत सिजन अन्तिम दिनमै इन्टरले नेपोलीसँग लिग उपाधि गुमाएको थियो । थुरामले नयाँ सिजनको पहिलो जितपछि भने, ‘गत वर्ष के भयो, अब त्यसमा धेरै ध्यान दिन्नौं । अब यसपल्ट इन्टरले के गर्नुपर्ने हुन्छ, त्यसमै हामी केन्द्रित हुनुपर्नेछ ।’
गेटाफे घरबाहिर सफल
स्पेनी ला लिगामा सोमबार राति एकमात्र खेलमा गेटाफेले सेभियामाथि २–१ को स्तब्धपूर्ण जित रचेको छ । सेभियाले घरमै भएको खेल गुमाएको हो । गेटाफेको जितमा एडरिन लिसो नायक रहे । उनले १५ र ५१ औं मिनेटमा गोल गरे । सेभियाविरुद्ध सम्भव एक गोल पनि आत्मघाती थियो र त्यो जोसे इग्लेसिसको नाममा रह्यो । लगातार दोस्रो जितपछि गेटाफेको ६ अंक भएको छ ।
