तेक्वान्दोको एनटीए लिग बिहीबारदेखि

सातदोबाटोस्थित तेक्वान्दो हलमा लिग चार दिन चल्ने मंगलबार आयोजक तेक्वान्दो संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

NTA Taekwondo League from Thursday

काठमाडौँ — नेपाल तेक्वान्दो संघले चौथो एनटीए लिग प्रतियोगिता आयोजना गर्ने भएको छ । ग्योरोगी र पुम्सेमा हुने लिग बिहीबारदेखि सुरु हुनेछ ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा लिग चार दिन चल्ने मंगलबार आयोजक तेक्वान्दो संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक भानबहादुर चन्दले यसपल्ट ५ सय ४५ महिला र ९ सय ५० पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

ग्योरोगी र पुम्से दुवैतर्फ गरी ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आयोजना गर्न ४० निर्णायक तथा प्राविधिक परिचालन गरिने जनाइएको छ ।

तेक्वान्दो खेलको विकाससँगै उदीयमान र प्रतिभावान खेलाडीको पहिचान र खोजी गर्न लिग आयोजना गरिएको चन्दले जानकारी गराए ।

कान्तिपुर

Link copied successfully