नयाँ शक्तिशाली टिम बन्ने लुम्बिनी लाभाजको दाबी

लुम्बिनीले रसियाकी केसेनिया तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई अनुबन्धन गरेको जनाएको छ ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Lumbini Lavaj claims to be a new powerful team

काठमाडौँ — लुम्बिनी लाभाजले फ्रेन्चाइज भलिबल वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ ।

लुम्बिनीले रसियाकी केसेनिया तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई अनुबन्धन गरेको जनाएको छ । प्रतियोगिताको नयाँ टिम लुम्बिनी लाभाजले टोलीलाई थप बलियो बनाउन रुस र किर्गिस्तानका खेलाडी लिएको हो ।

रुसी केसेनिया राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी आउटसाइड हिटर हुन् । उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई लाभ पुग्ने लुम्बिनीको विश्वास छ । किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य भइसकेकी कुलोभा पनि आउटसाइड हिटर हुन् । उनको प्रभावशाली शट र निरन्तर उर्जा भर्ने शैलीले टोलीलाई गतिशील बनाउने लुम्बिनीले अपेक्षा गरेको छ ।

लुम्बिनीले पहिलो विदेशी खेलाडीको रूपमा रुसी ब्लकर भेरोनिका जुबरेभालाई यसअघि नै अनुबन्धित गरेको छ ।  

लुम्बिनीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडीमा रहेकी छन् । कामना विष्ट, अलिशा मानन्धर, शान्तिकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिक्जना माझीलाई टोलीमा समावेश गरेको छ । ट्यालेन्ट हन्टबाट जानकी केसीलाई लिएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उत्कृष्ट संयोजनले लुम्बिनी लाभाज लिगमा शक्तिशाली नयाँ टोलीका रूपमा प्रस्तुत हुने क्लबको दाबी छ । प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।

कान्तिपुर

Link copied successfully