लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार राति न्युकासल युनाइटेडलाई ३–२ ले पराजित गरेको छ ।
काठमाडौँ — रियो नोमोहाले खेलको सयौं मिनेटमा गरेको गोल मद्दतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार राति न्युकासल युनाइटेडलाई ३–२ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला १६ वर्षीय नोमोहोले महत्त्वपूर्ण तीन अंकका लागि गोल गरेका हुन् ।
लिभरपुलले १० खेलाडीमा सीमित न्युकासलविरुद्ध सुरुमै गरेका दुई गोलको अग्रता गुमाएको थियो । रायन ग्राभनवेख र ह्युगो एकिटिकेले लिभरपुलका लागि गोल गरे । त्यसपछि न्युकासलका लागि ब्रुनो गुइमारेस तथा विलियम ओसुलाले फर्काए र खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
यो जितपछि लिभरपुलको दुई खेलबाट ६ अंक भएको छ । आर्सनल र टोटनहमले पनि लिगका सुरुआती दुवै खेल जितेका छन् । अब आइतबार हुने खेलमा आर्सनलले एनफिल्डको भ्रमण गर्नेछ । न्युकासल भने नयाँ सिजन अहिलेसम्म जितहीन रहेको छ ।
