तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ब्वाइजमा ज्ञान निकेतन र गर्ल्समा स्वर्णिम च्याम्पियन बनेको हो ।
What you should know
काठमाडौँ — ज्ञान निकेतन र स्वर्णिमले तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ब्वाइजमा ज्ञान निकेतन र गर्ल्समा स्वर्णिम च्याम्पियन बन्यो ।
ब्वाइज फुटसलको यू–११ उमेर समूहतर्फ बेसिक लर्निङ, यू–१३ तर्फ ब्राइट होराइजन र यू–१६ तर्फ रिब्स च्याम्पियन भए ।
आयोजक न्यु जेनिथको कोर्टमा बास्केटबलको ब्वाइज फाइनलमा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–४३ स्कोरले पराजित गर्यो । ज्ञानका महेन्द्र प्याकुरेलले ३३ स्कोर गरे । हिसील्हामु लामाको ८ स्कोरमा स्वर्णिमले रिब्सलाई २४–२२ ले हराएर गर्ल्सको उपाधि जित्यो ।
ब्वाइजमा महेन्द्र र गर्ल्समा हिसी मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । ब्वाइजमा कन्स्टिलेसनका सुनिदन तामाङ र गर्ल्समा रिब्सकी लिस्का थापा सर्वाधिक स्कोरकर्ता बने ।
फुटसलको यू–११ फाइनलमा बेसिकले चेल्सी वर्ल्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले हरायो । यू–११ फाइनलमा ब्राइट होराइजनले हार्टल्यान्ड एकेडेमीलाई ७–० ले हरायो । यू–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजमाथि १–० को जित दर्ता गर्यो ।
यू–११ मा एआईका सोयाङ लामा, यू–१३ मा विद्यावाणीका आरभ कलौनी र यू–१६ मा रिब्सका श्रमन गुरुङ उत्कृष्ट खेलाडी चुनिए । चेल्सीका समृद्ध कँडेल, ब्राइट होराइजनका महेन्द्र सञ्ज्याल र रिब्सका आयुश केसी आफ्नो विधाका उत्कृष्ट गोलरक्षक ठहरिए । यू–११ मा बेसिक लर्निङका सरोज तामाङ (१० गोल), यू–१३ मा रेडियन्टका सुलभ गुरुङ (११ गोल) र यू–१६ मा रिब्सका ब्लेस गुरुङ (६ गोल) सर्वाधिक गोलकर्ता भए ।
बास्केटबलको ब्वाइजमा एभीएम र गर्ल्समा केसीसीएस अनुशासित टिम चुनिए । फुटसलमा मनास्लु, जेनिश र समृद्धिले फेयर प्ले ट्रफी हात पारे ।
विजेतालाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, काठमाडौं महानगरपालिका वडा १८ का अध्यक्ष नुच्छेकाजी महर्जन, न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जनलगायतले पुरस्कृत गरे ।
