एन्फा महिला लिग छनोट : सरिताको ह्याट्रिकमा आरएस एफसीको चमक

समूह ‘बी’ अन्तर्गत लम्की र नेपाल वेस्टले गोलरहित बराबरी खेलेका छन् ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

ANFA Women's League Qualifiers: Sarita's hat-trick shines for RS FC

काठमाडौँ — सरिता बिकको ह्याट्रिकप्रेरित आरएस रिसोर्टले सोमबार सिन्धुपाल्चोक एफसीमाथि एन्फा महिला लिग फुटबल छनोटमा ८–३ को जित रचेको छ । समूह ‘ए’ अन्तर्गत च्यासलमा भएको खेलमा सरिताले चार गोल गरिन् । सिन्धुपाल्चोकले सातौं मिनेटमा अग्रता लिए पनि ठूलो अन्तरको हार बेहोरेको हो । 

अनु भुसालले खेलमा सुरुआती गोल गरेकी हुन् । आरएसका लागि इशा चौधरीले १२ औं मिनेटमा बराबरी गोल फर्काइन् । त्यसपछि सलिना सरुले ३२ र सरिताले ३९ औं मिनेटमा आरएसबाट गोल गरेका थिए । पहिलो हाफ सकिन एक मिनेटअघि मिन्जल लामाले सिन्धुपाल्चोकका लागि दोस्रो गोल गरिन् । 

त्यस स्थितिमा खेल आरएसको पक्षमा ३–२ ले गयो । दोस्रो हाफ सुरु भएयता अनुले नै सिन्धुपाल्चोकका लागि तेस्रो गोल गरिन् र खेल बराबरीमा आयो । त्यही स्थितिबाट आरएसले ५ गोल थपेको हो । त्यसमा इशाले ५५, सरिताले, ७०, ८५ र ८८ औं मिनेटमा गोल गरिन् । 

तुलसी शाहीले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा आरएसबाट आठौं तथा अन्तिम गोल गरेकी थिइन् । यो जितपछि आरएसको ३ खेलबाट ६ अंक भएको छ । सिन्धुपाल्चोकको भने यो लगातार तेस्रो हार हो । टिम अंकविहीन छ । 

समूह ‘बी’ अन्तर्गत सोमबारको खेलमा लम्की र नेपाल वेस्टले गोलरहित बराबरी खेले । दुवै टिमले यससँगै लगातार दुई हारको क्रममा पूर्णविराम लगाएका छन् । दुवैको अब ३ खेलबाट १ अंक भएको छ । तर, नेपाल वेस्टले आफ्नो तीन खेलमा गोलको खडेरी भने तोड्न सकेको छैन ।

कान्तिपुर

Link copied successfully