लुम्बिनी लाभाज टिमकी मार्की खेलाडीमा अरुणा शाही छन् भने अन्य खेलाडीमा कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, जेनिसा विश्वकर्मा, रोमा महतो, अनुसा चौधरी, रिक्जना माझी र जानुका केसी रहेका छन् ।
What you should know
भैरहवा — वात्सल्य एभरेस्ट वुमन्स भलिबल लिगअन्तर्गत लुम्बिनी लाभाज टिमले सोमबार रुपन्देहीको भैरहवामा ट्रफी सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुने लिगमा लुम्बिनीबाट सहभागी हुने खेलाडीबारे पनि जानकारी गराइएको छ ।
लुम्बिनी लाभाजका प्रमुख प्रशिक्षक भरत यादवले सोमबार बिहान आयोजित ट्यालेन्ट हन्टबाट रुपन्देहीकी जानकी केसीलाई छनौट गरिएको जानकारी दिए । सीप, खेल कौशल र उमेर समूह मेल खाँदा केसीलाई छनौट गरिएको जनाए । केसीलाई ५० हजार रुपैयाँमा टिममा आवद्ध गरिएको हो । नेपाल भलिबल संघले खेललाई उचाइ प्रदान गर्न दोस्रो चरणको लिग हुन गइरहेको जनाए । टिममा ९ जना नेपाली र तीन जना विदेशी खेलाडी रहेका जानकारी दिए ।
लुम्बिनी लाभाजकी मार्की खेलाडी अरुणा शाहीले उपाधि जित्नेगरी खेलाडी छनौट गरिएको जानकारी दिइन् । अहिले ट्यालेन्ट हन्टबाट छनौट हुन असफल खेलाडीलाई आगामी दिनमा अवसर प्रदान गरिने बताइन् । 'त्यस अनुसार मेहनत गर्नु होला,' उनले भनिन्, 'आज अनावरण गरिएको ट्रफी लुम्बिनीमा ल्याउने गरी खेल्नेछौँ ।' लुम्बिनी लाभाजसित जोडिन पाउँदा हर्षित रहेको टिम कप्तान रहेकी शाहीले बताइन् ।
टिमकी ब्रान्ड एम्बेसडर आना शर्माले महिलाका लागि प्रदान गरिने यस्ता अवसरले खुसी तुल्याउने बताइन् । अहिले खेलाडीमाथि लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु भएको उनले बताइन् । आफूले महिला टिमलाई समर्थन गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
टिमका निर्देशक रामजी पौडेलले गत वर्षदेखि सुरु भएको लिगमा लुम्बिनी लाभाजले पहिलोपटक सहभागिता जनाउन लागेको बताए । मुलुकका सबै स्थानमा खेल्न सकिने भलिबल खेललाई लुम्बिनी लाभाजले थप उचाइमा पुर्याउने जानकारी दिए । 'महिला भलिबल टिमलाई तपाईंहरूले गर्ने प्रोत्साहनले ट्रफी भित्र्याउन भूमिका खेल्नेछ,' उनले भने, 'अहिले नेपाली महिला टिमले उचाइ हासिल गरेको छ । त्यसलाई लुम्बिनीले थप उचाइमा पुर्याउने विश्वास गरेको छु ।'
रुपन्देहीको मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लुम्बिनी लाभाजले प्रदेशको नाम राख्ने विश्वास व्यक्त गरे । यसपटक उपाधि जित्नका लागि उनले टिमलाई शुभकामना दिए । लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेयले खेलाडी प्रोत्साहन गर्न मन्त्रालय तयार रहेको बताए । आगामी दिनमा खेलाडी छनौटदेखि प्रशिक्षणमा समन्वय गरेको खण्डमा मन्त्रालयले बजेट विनियोजन गर्न सक्ने बताए । 'थोरै बजेट भए पनि सहयोग गर्न चाहन्छु,' उनले भने, 'म प्रदेश सरकारसित समन्वय गरेर दिगो सहकार्य गर्न चाहन्छु ।'
लुम्बिनी लाभाज टिमकी मार्की खेलाडीमा अरुणा शाही छन् भने अन्य खेलाडीमा कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, जेनिसा विश्वकर्मा, रोमा महतो, अनुसा चौधरी, रिक्जना माझी र जानुका केसी रहेका छन् । एभरेस्ट स्पोर्ट्स म्यानेजमेन्टले टिमको व्यवस्थापन गरिरहेको छ ।
