नयाँ घरमा एभरटनको विजयी सुरुवात

गुडिसन पार्कलाई बिदाइ गर्दै यसै सिजनबाट एभर्टनले हिल डिकिन्सनमा खेल्न थालेको हो।

भाद्र ९, २०८२

एएफपी

Everton's winning start at new home

What you should know

लन्डन — एभरटनले आफ्नो नयाँ घरेलु मैदान हिल डिकिन्सनमा आइतबार विजयी सुरुवात लिएको छ र यसका लागि उसले ब्राइटनलाई २–० ले हराएको हो । ऐतिहासिक गुडिसन पार्कलाई बिदाइ गर्दै यसै सिजनबाट एभरटनले नयाँ रंगशालामा खेल्न थालेको हो ।

त्यसै मैदानमा भएको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा इलिमन एनडीएले २३ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि जेम्सन गार्नरले ५२ औं मिनेटमा दोस्रो गोल थपे । म्यानचेस्टर सिटीबाट ‘लोन’ मा आएका ज्याक गिरिलिसले दुवै गोलमा पास उपलब्ध गराए । लिगमा सिजनको पहिलो जितपछि एभर्टनको तीन अंक भएको छ र आठौं स्थानमा रह्यो । ब्राइटन एकै अंकमा सीमित रहेर १७ औं स्थानमा छ ।

क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ । यस खेललाई फरेस्टका प्रशिक्षक नुनो इस्प्रिटो सान्टुको अन्तिम खेल मानिएको छ । पछिल्लो समय क्लब व्यवस्थापनसँग उनको मतभेद रहेको छ, त्यसैले उनलाई क्लब जिम्मेवारीबाट हटाउन सक्ने सम्भावना छ । प्यालेसले ३७ औं मिनेटमा इस्माइल सारको गोलले अग्रता लिएको थियो । फरेस्टका लागि कलम हडसन–ओडोईले ५७ औं मिनेटमा बराबरी गोल फर्काए । प्यालेसको लगातार दुई बराबरीले दुई अंक भएको छ । फरेस्ट भने चार अंकसहित चौथो स्थानमा रह्यो ।

आर्सनलले शनिबार लिड्स युनाइटेडलाई ५–० ले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लेको थियो । आर्सनल र उसको उत्तरी लन्डन प्रतिद्वन्द्वी टोटनहमको पनि समान छ अंक छ । आर्सनल गोल अन्तरले अगाडि रहेको हो । इमिरेट्समा भएको खेलमा भिक्टर योकेरेस र जरेन टिम्बरले दुई–दुई गोल गरे । अर्को गोल बुकायो साकाले गरे । 

डे ब्रुएनाको 'डेब्यु’ मै गोल

मिलान– डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा शनिबार विजयी सुरुवात लिएको छ । केभिन डे ब्रुएनाले डेब्युमै गोल गरेपछि उसले ससुलोलाई २–० ले हरायो । सुरुमा स्कट म्याकटोमिनीले गोल गरेपछि म्यानचेस्टर सिटी छाडेर इटाली आएका डे ब्रुएनाले गोल गरेका हुन् । इंग्ल्यान्डमा एक दशक लामो समय खेलेर उनी इटाली आएका हुन् । शनिबारकै अर्को खेलमा एसी मिलान झने त्रेमोन्सको हातबाट २–१ ले स्तब्धपूर्ण हार बेहोर्न बाध्य रह्यो । एस रोमाले भने बोलोग्नालाई १–० ले हरायो ।

बार्सिलोनाको लगातार दोस्रो जित

म्याड्रिड– बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार लगातार दोस्रो जित निकालेको छ र सुरुवाती दुई खेलबाट ६ अंक बटुलेको छ । उसले दुई गोलले पछाडि रहेको स्थितिबाट लेभान्टेलाई ३–२ ले हराएको हो । लेभान्टेले इभान रोमेरो र जोसे लुइसको गोलले अग्रता लिएको थियो । त्यसपछि पेड्री तथा फेरान टोरेसले बार्सिलोनाका लागि गोल गरे ।

निर्णायक गोल भने आत्मघाती रह्यो । यो लेभान्टेका उनाई इगेगाबालका नाममा रह्यो । शनिबारका अन्य खेलमा एटलेटिको म्याड्रिड इल्चे र मार्लोकाले सेल्टा भिगोसँग समान १–१ को बराबरी खेले । रियल बेटिसले भने डेपोर्टिभो एलाभेसलाई १–० ले हरायो ।

एएफपी

Link copied successfully