प्रतियोगितामा १२ टोलीको प्रतिस्पर्धा हुनेछ, विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ पाउँदा उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी पाउनेछन्।
What you should know
तिलोत्तमा — रूपन्देहीको प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको लिस्नु कप फुटबल प्रतियोगिता यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।
४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ प्रथम पुरस्कार राखिएको प्रतियोगिताको २३ औ संस्करणको उपविजेता टिमले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक पदमबहादुर थापाले बताए ।
सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १२ हजार ५ सय, सर्वाधिक गोलकर्तालाई १२ हजार ५ सय, राइजिङ खेलाडीलाई १२ हजार ५ सय र प्रत्येक दिनको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, अनुशासित टिमलाई आकर्षक ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता पशुपति माध्यमिक विद्यालयको प्रांगणमा हुनेछ।
खेललाई व्यवस्थित बनाउन जिल्ला फुटबल संघबाट निर्णायक टोलीलाई आमन्त्रण गरिएको छ र खेललाई फिफाको नियमानुसार खेलाइनेछ। प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका खेलाडीको खेल अवधिभरका लागि १ लाखको दुर्घटना बिमाको व्यवस्था रहेको क्लबका सचिव मनोजकुमार क्षेत्रीले जनाए।
प्रतियोगितामा आयोजक लिस्नु युवा क्लब तिलोत्तमा, झरना स्पोर्ट्स क्लब तिलोत्तमा, फर्साटिकर एफसी, फर्साटिकर, भैरहवा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर, सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौली, अभिषेक चर्च, रजहर नवलपरासी, गोर्खा वोइज बुटवल, देवदह वोइज खैरेनी, वालिङ–११ वालिङ नगरपालिका, पाल्पा–११ पाल्पा, नवलपरासी–११ नवलपरासी र कपिलवस्तु–११, कपिलवस्तु गरी १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल भदौ २७ मा हुनेछ । प्रतियोगिता ३ हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।
खेल अवलोकन गर्ने दर्शकलाई क्वाटरफाइनलसम्म १०० र फाइनल खेलमा २०० रुपैयाँ टिकट दर तोकिएको छ। महिलालाई प्रि–क्वाटरफाइनलसम्म निःशुल्क र क्वाटरफाइनलदेखि फाइनलसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सहभागी क्लबलाई भने प्रवेश शुल्क लाग्ने छैन ।
