पछिल्लो ‘ए’ डिभिजन खेलेका खेलाडीमध्ये ५५ प्रतिशतले त फुटबल खेल्न छाडिसके, खेल्न छाडेर विदेश जानेमा विभागीय टिमकै खेलाडी बढी छन्।
What you should know
काठमाडौँ — वर्ष ०८० को जेठ २७ । थ्रीस्टार र जावलाखेल क्लबबीच दशरथ रंगशालामा भएको खेल साँच्चै कसरी खेलिएको थियो त ? सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–०८० को यो अन्तिम खेलको चर्चा फरक प्रसंगमा फरक ढंगले कोट्याइने छ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका विक्रम लामाको यो अन्तिम खेल पनि थियो । खेलाडी जीवनको साँच्चैको अन्तिम खेल ।
खेलपछि उनी भावुक रहे । उनलाई के लाग्यो भने दशरथ रंगशालमा भरिभराउ दर्शकबीच फुटबल खेल्दाको जुन मज्जा छ, अब उनले फेरि दोहोर्याएर आत्मसात् गर्न पाउने छैनन् । दुःख के पनि छ भने त्यही दिनयता फेरि दोहोर्याएर माथिल्लो डिभिजनको फुटबल हुन सकेको छैन । अहिले नेपाली फुटबल मनपराउनेहरू लिग नभएको कति भयो भनेर दिनगन्ती गरिरहेका छन्, त्यो पनि दुःखै मानेर ।
डर छ ढिलोचाँडो हजार दिन पुग्न बेर छैन । माथिल्लो डिभिजनको लिग नहुने छाँटकाँट यस्तै चलिरहने हो भने । अनि एउटा अर्को प्रश्न, काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आधिकारिक नकआउट प्रतियोगिता नभएको कति भयो होला ? यसको पनि दिन गनेर साध्य छैन । किनभने यसले केही नभए पनि १३ वर्ष जतिको समय छोइसकेको छ ।
यो सबैमा दोष कस्को त ? एन्फाको नेतृत्वमा रहेका संस्थापन पक्षको ? त्यससँग विमति राखेर विरोध गरिरहेका समूहको त ? कि ‘ए’ डिभिजनमा सहभागी हुने क्लबको ? यावत प्रश्नबीच दुःख के छ भने कोही कसैले लिग किन भएन भने सोध्ने काम नै गरेका छैनन् । यो सबै अवस्थामा पेलिने भनेका खेलाडीहरू नै हुन् । ‘ए’ डिभिजन लिग नभएर दुःख खेलाडीलाई मात्र भएको छ, संस्थापन पक्ष र त्यसका विरोधी कसैलाई छैन ।
फेरि त्यही पछिल्लो लिगमा फर्कने हो भने त्यसको उपाधि जितेको टिम थियो, चर्च ब्वाइज युनाइटेड । त्यस लिगमा कुल १४ टिमको सहभागिता थियो । राउन्ड रोबिनको आधारमा कुल ९१ खेल भए । त्यस लिगमा सहभागी कुल खेलाडीको संख्या थियो, ३ सय ९३ । यो ठ्याक्कै संख्या भयो । अब बन्ने प्रश्न हो, यी खेलाडी अचेल कहाँ छन् होला । त्यसमध्ये खेल्नै छाडेका एक खेलाडी त विक्रम पनि भए ।
अहिले उनी फुटबल खेलाडी संघका अध्यक्ष छन् । जति त्यो समयका फुटबल खेलाडी भेटिन्छन्, सबैको एउटै गुनासो हुने गर्छ, फुटबल प्रतियोगिता नै हुन्न । त्यो भनेको लिग नै भयो । यसले सिधा–सिधा खेलाडीको आर्थिक पक्षमा क्षति पुर्याएको भयो नै । त्यो भन्दा पनि नाम चलेका खेलाडीलाई पनि लाग्न थालेको छ, फुटबल नै हुँदैन भने खेलिरहने चाहिँ किन ? फुटबल खेलेर हुने अब के त ?
त्यो लिग खेल्ने कुल खेलाडीमध्ये ७० जति खेलाडी विदेशी थिए । यो भने ठ्याक्कै संख्या नहुन सक्छ, एकाध तलमाथि हुन सक्नेछ । यस्तोमा नेपाली खेलाडीको संख्या मान्न सक्छौं, ३ सय २३ । ती सबैको नामै किटेर सूची बनाउने हो भने १ सय ४५ जतिले अहिले पनि फुटबल खेलिरहेका छन् । त्यो भनेको ४५ प्रतिशतकै हाराहारीमा हो । जतिले अहिलेसम्म खेलिरहेका छन्, तिनको कमाउने स्रोत भनेको निकै कमसल खालका प्रतियोतिगा हुन् ।
त्यसलाई सिधा–सिधा भाषामा ‘खेप’ भन्दा हुन्छ । केही भारतीय भूमिमा गएर खेल्न बाध्य छन् । केही देशभित्र आयोजना भएका असाध्यै कमजोर प्रतियोगिता खेलेर आफूलाई टिकाइरहेका छन् । यस्तो प्रतियोगिता हुने मैदान मात्र हेर्नुपर्छ, त्यसमध्ये धेरै फुटबल खेलाउन योग्य नै हुँदैन । त्यसले जतिले फुटबल खेलिरहे, त्यसमध्ये आधा जति कुनै न कुनै मोडमा घाइते भइरहेका छन् ।
पछिल्लो ‘ए’ डिभिजन खेलेका करिब १ सय ३ खेलाडीले फुटबल नै खेल्न छाडिसकेका छन् । त्यो भनेको ३२ प्रतिशत हाराहारीमा भयो । अनि ७५ जति खेलाडी विदेश पलायन भएका छन् । यो भनेको २३ प्रतिशत भयो । यिनीहरूमध्ये कसैले पनि फुटबल खेलिरहेका छैनन् । जतिले खेलेको दाबी गर्छन्, त्यो रहरको फुटबलभन्दा बढी केही पनि होइन । त्यसको अर्थ तिनीहरूले पनि खेल्न छाडेकै भए ।
यस्तोमा पछिल्लो ‘ए’ डिभिजन खेलेका खेलाडीमध्ये ५५ प्रतिशतले त फुटबल खेल्न छाडिसके । यो त असाध्यै निराशाजनक स्थिति बनेको छ । फुटबल खेल्न छाडेर विदेश जानेमा तीन विभागीय (आर्मी, पुलिस र एपीएफ) टिमकै खेलाडी पनि बढी छन् । फुटबल नभएपछि अब पुलिस, आर्मी र एपीएफ पनि खेलाडीको आकर्षक गन्तव्य रहेन । फेरि खेलाडी यी विभागीय टिमबाट खेलेर भविष्यप्रति ढुक्क हुने स्थिति पनि छैनन् ।
न त ती खेलाडीले पाउने पद नै राम्रो छ । खेलाडीले विभागतिर बढी पाउने जागिर भनेको निकै तलको पदमा मात्र हो । त्यसैले पनि फुटबल खेलाडीहरूमा अचेल विभागीय टिमहरू जाने इच्छा नै देखिन्न । अहिले ९ खेलाडी भने विदेशी लिगमा खेलिरहेका छन्, त्यसमध्ये सात बंगलादेशी क्लबसँग आबद्ध छन् । त्यसमध्ये एक त राष्ट्रिय टिमका कप्तान किरण लिम्बू नै भए । यी सबै ९ खेलाडी राष्ट्रिय टिमकै हुन् ।
यस्तोमा यति बेला बंगलादेशी लिग फुटबलले नेपालप्रति गुन लगाएको छ । नत्र नेपाली राष्ट्रिय टिम निर्माणकै लागि भने खुला आह्वान गर्नुपर्ने स्थिति बनेको छ । अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले पछिल्लो समय लगभग यस्तै उपाय त अपनाए । अब जतिबेला नेपालमा ‘ए’ डिभिजन नभएको साँच्चै हजार दिन पुग्नेछ, त्यतिबेला फुटबल खेलिरहने खेलाडी कति बाँकी होलान् ?
