बेहाल चिदिचौर खेलमैदान

क्रसर उद्योग बन्द रहेकाले काम रोकिएको ठेकेदारको दाबी । भन्छन्, ‘क्रसरबाट सामग्री पाएमा निर्माणमा समय नै लाग्दैन ।’

भाद्र ७, २०८२

सन्तोष महतारा

Behal Chidichour Playground

What you should know

गुल्मी — फुटबल, क्रिकेट र भलिबलले गुञ्जायमान हुने चिदिचौर खेलमैदान अहिले सुनसान छ । सदरमुकाम तम्घासको मुख्य भागमा रहेको खेलमैदानलाई व्यवस्थित गर्नका लागि निर्माण कार्य सुरु गरे पनि हाल काम ठप्प बनेको छ ।

गत वैशाख अन्तिम साता निर्माण कार्य सुरुवात गरिए पनि माटो निकालेर यत्तिकै छाडेपछि चिदिचौर खेलमैदान बेहाल बनेको हो । जेठ र असार महिनामा त चिदिचौर मैदान पानीको तालमा परिणत भएको थियो । बालबालिका डुबेर ज्यान गुमाउने डरले पानीलाई अस्थायी नाली बनाएर बगाइएपछि चिदिचौरको रूप पुरानै स्थितिमा फर्किएको छ । 

रेसुंगा नगरपालिकाले चिदिचौर खेलमैदानलाई दूबो रोपेर व्यवस्थित बनाउनका लागि बहुवर्षिय ठेक्काका रूपमा लुम्बिनी प्रदेशबाट बजेट सुनिश्चित गरेको थियो । खेलमैदानकै बीचमा पानीको मूल फुट्ने समस्याका कारण उक्त पानीलाई जमिन तल नै व्यवस्थित गर्ने र त्यसपछि मलिलो माटोले समथर बनाएपछि दूबो रोप्ने योजना हालको ठेक्कामा छ । अहिले चिदिचौर सौन्दर्यीकरण गर्न ठेक्का त छ तर ठेकेदार भने छैनन् । लापत्ता भएका छन् ।

काम ठप्प भएपछि खेलाडी र खेलप्रेमी निराश छन् । न त चिदिचौर व्यवस्थित बनाउन निर्माण कार्य अगाडि बढेको छ, न चिदिचौर खेल प्रतियोगिता संचालन गर्न मिल्ने पुरानो अवस्थामा छ । यसै कारण ठेकेदारले काम ठप्प पारेर हिँडेको स्थानीय खेलप्रेमीको आरोप छ । स्थानीय क्लबले खेल संचालन गर्ने समयमा चिदिचौर बेहाल अवस्थामा रहेको लुम्बिनी खेलकुद परिषद् सदस्य महेश काउछाले बताए । ‘चिदिचौरको काम अलपत्र पार्नुले खेल प्रभावित बनेका छन्,’ उनले भने, ‘ठेकेदारले छिट्टै आएर काम गर्नुपर्‍यो ।’ 

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत चिदिचौर खेलमैदान व्यवस्थित गर्नका लागि १ करोड रुपैयाँ लागतमा गत वैशाख अन्तिम साता रामेछाप कन्ट्रक्सन काठमाडौंले निर्माणको जिम्मा पाएको थियो । २०८३ असारसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका इन्जिनियर अञ्जली थापाले बताइन् । समयभित्रै काम सम्पन्न गर्नेमा अझै पनि आफू आश्वस्त रहेको उनले बताइन् ।  Behal Chidichour Playground

निर्माण कम्पनी रामेछाप कन्ट्रक्सन काठमाडौंका संचालक लीलाबहादुर बस्नेतले क्रसर उद्योग बन्द रहेकाले काम रोकिएको बताए । सुरुमा गुणस्तरहीन सामग्री ल्याएको विषय भने उनले स्वीकार गरे । ‘सामग्रीमा केही समस्या देखियो, पछि सुधारिएको छ,’ उनले भने, ‘क्रसरबाट सामग्री पाएमा निर्माणमा समय नै लाग्दैन ।’ 

रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पटक–पटकको पहलपछि चिदिचौर खेलमैदान सौन्दर्यीकरणका लागि काम अगाडि बढे पनि हाल निर्माण व्यवसायीले सास्ती दिइरहेको बताए । ‘प्रदेश सरकार, कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि काम अगाडि बढेको छैन,’ उनले भने, ‘समस्या भए हामी सहजीकरण गर्छौं तर जिम्मा लिएपछि काम अलपत्र पार्न पाइँदैन ।’ 

तम्घासको मुटु मानिने चिदिचौर खेलमैदान बहुवर्षीय ठेक्का वा म्याद भएकै कारण निर्माण कार्य रोक्न नहुने र तत्काल काम सुरु गर्न पटक–पटक पहल भइरहेको नगर प्रमुख पन्थीले बताए ।

सन्तोष

Link copied successfully