महिला लिग फुटबल : एनआरटीको फराकिलो जित

महिला फुटबल लिग छनोटमा एनआरटी र चर्च ब्वाइज अपराजित 

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Women's League Football: Wide win for NRT

What you should know

काठमाडौँ — एनआरटी र संकटा क्लब घरेलु फुटबलका सबैभन्दा नजिकका प्रतिद्वन्द्वी हुन् । त्यसको झल्को अब महिला फुटबलमा पनि सर्ने भएको छ । अहिले चलिरहेको एन्फा महिला लिग छनोटमा दुवै टिम एउटै समूहमा छन् । सम्भवतः त्यसको शीर्षस्थानमा यिनै दुई टिम भिड्ने छन् ।

सजिना स्याङ्तानको ह्याट्रिकप्रेरित एनआरटीले समूह ‘बी’ को बिहीबार भएको खेलमा लम्की फुटबल एन्ड टेनिङ सेन्टरलाई ७–२ ले हरायो । एनआरटी २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा उक्लेको छ । संकटा पनि ६ अंकमै दोस्रो स्थानमा छ । बुटवल–लुम्बिनी एफसीको पनि ६ अंक छ । टोली तेस्रो स्थानमा छ । लम्की भने लगातार दोस्रो हारपछि अंकविहीन रहेर पुछारबाट दोस्रोमा रह्यो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेल पहिलो हाफसम्म प्रतिस्पर्धात्मक देखिएको थियो । दोस्रो हाफमा भने एनआरटीको एकोहोरो प्रभुत्व रहेको थियो । सजिनाले ११ औं र प्रतीक्षा ठकुरी २६ औं मिनेटमा गोल गर्दै एनआरटीलाई २ गोलले अगाडि राखे । तुलसा बोहराले ३० औं मिनेटमा लम्कीबाट गोल गरिन् । लगत्तै प्रतीक्षाले ३४ औं मिनेटमा एनआरटीका लागि तेस्रो गोल थपिन् । दोस्रो हाफ सुरु 

भएयता ५४ औं मिनेटमा जानकी साउदले लम्कीका लागि फेरि एक गोल फर्काइन् । त्यसपछिको खेलमा पूर्णतः एनआरटी छाएको थियो । टासील्हामु शेर्पाले ५८ र ७२ औं तथा सजिनाले ६७ र ८५ औं मिनेटमा गोल गरेका थिए । 

समूह ‘ए’ मा भएको पहिलो खेलमा चर्च ब्वाइजले आरएस रिसोर्ट एन्ड बिच एफसीलाई १–० ले हरायो । त्यसमा सुजाता पालुङ्वाले ७६ औं मिनेटमा निर्णायक गोल गरिन् । चर्च ब्वाइजको पनि यो लगातार दोस्रो जित हो । टोलीको खातामा ६ अंक भएको छ ।

लगातार दोस्रो खेलमा ‘क्लिन सिट’ राख्दै चर्च ब्वाइज समूहको दोस्रो स्थानमा उक्लेको छ । समान ६ अंकमा छहारी एफसी समूहको शीर्षमा छ । आरएस भने ३ अंकमै सीमित रह्यो । यससँगै दुवै समूहमा सुरुको दुई चरण टुंगिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully