टस जितेर ब्याटिङ रोजेको पाकिस्तान युवा टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४४ रन बनाएको हो ।
What you should know
काठमाडौँ — पाकिस्तान शाहिन्सले अस्ट्रेलियामा भइरहेको टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाललाई विजयका लागि १ सय ४५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तान युवा टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४४ रन बनाएको हो ।
डार्बिनको मारारा क्रिकेट मैदान–२ मा नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरे पनि पाकिस्तान शाहिन्सले अन्तिम ५ ओभरमा ६१ रन जोड्दै हेर्न लायकको स्कोर बनाएको हो । कप्तान इरफान खान ३६ बलमा ४२ रन बनाई अविजित रहे । उनले इनिङ्सको अन्तिम बलमा कुशल मल्ललाई छक्का प्रहार गरेका थिए । उनले कुल ३ चौका र १ छक्का प्रहार गरे ।
खेलको दोस्रो तथा आफ्नो पहिलो ओभरमै दीपेन्द्रसिंह ऐरीले ओपनर माज सदाक्तलाई १ र मोहम्मद फैजलाई २ रनमा आउट गरि नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । अर्का ओपनर यासिर खानलाई कुशल भुर्तेलले १८ रनमा आउट गरेपछि नेपाल बलिङमा हावी भएको थियो । नन्दन यादवले एकै ओभरमा अब्दुल समाद र घाजी घोरीलाई (४) आउट गरेका थिए । पाकिस्तानका लागि ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका समादले २५ बल खेलि समान १ चौका र छक्कासहित २६ रन बनाए ।
इरफान र मोहम्मद वासिमले आठौं विकेटमा ४० रनको अविजित साझेदारी गरे । वासिमले २२ बल खेलि २ चौका र १ छक्कासहित २३ रन बनाए । नेपालबाट सोमपाल कामीले ३ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । दीपेन्द्रले ३ ओभरमा १५ र नन्दनले ४ ओभरमा ३२ रन खर्चेर २–२ तथा भुर्तेलले १ विकेट लिए ।
पहिलो ५ खेलमा पछिल्लो २ मा जित हात पारि नेपाल ११ टोली समावेश आठौं स्थानमा छ । समूहचरणमा नेपालको यो अन्तिम खेल हो । यस जितेमा नेपालको शीर्ष चारमा रहँदैं सेमिफाइनलमा पुग्ने आशा कायमै रहने छ ।
