भुटानविरुद्ध नेपालको पुनरागमन जित

थिम्पुको चाम्लिथाङ रंगशालामा भएको खेलमा भुटानले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Nepal's comeback win against Bhutan

काठमाडौँ — सहारा लिम्बूको दुई गोलको मद्दतले नेपालले यू–१७ साफ वुमेन्स च्याम्पियनसिपमा शुक्रबार भुटानमाथि २–१ को पुनरागमन जित रचेको छ । थिम्पुको चाम्लिथाङ रंगशालामा भएको खेलमा भुटानले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

भुटानका लागि कुन्डेन सोनामले हेडबाट ४२ औं मिनेटमा आकर्षक गोल गरेकी हुन् । नेपालका तर्फबाट सहारा लिम्बूले ५७ औं मिनेटमा बराबरी गोल फर्काइन् । उनले नै ७६ औं मिनेटमा दोस्रो गोल गरिन् । यससँगै डबल राउन्ड रोबिनको आधारमा भइरहेको छनोटमा नेपालको दुई खेलबाट ३ अंक भएको छ ।

भुटान भने दुई खेलबाट लगातार हारसँगै शून्य अंकमै सीमित रह्यो । अब नेपालले आइतबारको खेलमा बंगलादेशको सामना गर्नेछ । त्यही दिन भारत भुटानसँग भिड्ने छ । भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ र उपाधिका लागि बलियो प्रत्यासी बनेको छ ।

झारतले शुक्रबार लगातार दोस्रो जित निकाल्ने क्रममा बंगलादेशलाई २–० ले हराएको हो । दिनको पहिलो खेलमा भारतले प्रत्येक हाफमा १/१ गोल गरेको थियो । पर्ल फर्नान्डेजले १४ औं मिनेटमा गोलको खाता खोलिन् । त्यसपछि बोनिफिला सुलाईले ७६ औं मिनेटमा दोस्रो गोल थपिन् ।

कान्तिपुर

Link copied successfully