प्रतियोगिताको विजेता टिमले नगद ४० हजारसहित आकर्षक शिल्ड र उपविजेताले नगद २० हजार रुपैयाँ पाउनेछन् ।
सुनसरी — तेस्रो संस्करणको सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन् । इटहरीमा सोमबारदेखि हुने प्रतियोगितामा सुनसरीका २८ विद्यालयले सहभागिता जनाउने आयोजक अल स्पोर्टस् कलेक्सनले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
बालबालिकाको खेलसम्बन्धी कौशललाई विकास गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिता दुई दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष विमल मगरले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ४० हजारसहित आकर्षक शिल्ड र उपविजेताले नगद २० हजार रुपैयाँ पाउनेछन् ।
उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउने र विधागत उत्कृष्ट हुनेले जनही नगद २ हजार पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । फुटसलका विभिन्न प्रतियोगिता आयोजना भए पनि विद्यालयस्तरको प्रतियोगिता नभइरहेको अवस्थामा यस वर्ष निरन्तरता दिइएको आयोजकको दाबी छ ।
