बुटवल लुम्बिनीलाई सफलता

लगातार दोस्रो खेलमा ‘क्लिन सिट’ राख्दै बुटवल–लुम्बिनीले पोखरा गर्ल्स एफसीलाई २–० ले हराएको हो ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Success to Butwal Lumbini

काठमाडौँ —  बुटवल लुम्बिनी एफसीले एन्फा महिला लिग छनोट फुटबलमा बुधबार लगातार दोस्रो जित निकालेको छ । क्लब ६ अंकसहित समूह ‘बी’ को दोस्रो स्थानमा उक्लेको छ । संकटा क्लब पनि ६ अंकमै शीर्षस्थानमा छ । लगातार दोस्रो खेलमा ‘क्लिन सिट’ राख्दै बुटवल–लुम्बिनीले पोखरा गर्ल्स एफसीलाई २–० ले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीले दुवै हाफमा एक–एक गोल गरेपछि सजिलो जित आत्मसात् गरेको हो । करुणा परियारले ३९ औं मिनेटमा गोलको खाता खोलिन् भने सुष्मा लिम्बूले ७३ औं मिनेटमा दोस्रो गोल थपिन् । पोखरा गर्ल्सको यो लगातार दोस्रो हार हो ।

टिम अंकविहीन हुँदा ७ टिममध्ये सबैभन्दा पुछारमा छ । अर्को खेलमा राप्ती एफसीले सिन्धुपाल्चोक एफसीलाई १–० ले हरायो । समूह ‘ए’ को खेलमा मेनुका आलेमगरले ५३ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । दोस्रो खेलमा पहिलो जितसँगै राप्तीको ३ अंक भएको छ । सिन्धुपाल्चोक भने पहिलो हारपछि ३ अंकमै सीमित रह्यो ।

कान्तिपुर

Link copied successfully