ओलम्पिक विवाद टुंग्याउन काम गर्ने दाबी

एनओसीका पूर्वअध्यक्षसमेत रहेका प्रधानले भने, ‘म अध्यक्ष हुन आएको होइन, समस्या समाधान गर्न आएको हुँ ।’

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Claims to work to end Olympic controversy

What you should know

काठमाडौँ — ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै भनेको छ, आफूहरूको उद्देश्य ओलम्पिक विवाद समाधान गर्ने नै हो ।

ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै भनेको छ, आफूहरूको उद्देश्य ओलम्पिक विवाद समाधान गर्ने नै हो ।

त्यति मात्र होइन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को समर्थन आफ्नै पक्षमा हुने दाबीसमेत गरे । एनओसीका पूर्वअध्यक्षसमेत रहेका प्रधानले भने, ‘म अध्यक्ष हुन आएको होइन, समस्या समाधान गर्न आएको हुँ ।’

यसक्रममा तदर्थ समितिले आफ्नो भाबी कार्यक्रम पनि प्रस्तुत गरेको छ । यसै साता सरकारले सातदोबाटोस्थित एनओसी भवन लगाएको ताला खोलिदिएपछि तदर्थ समिति त्यसमा प्रवेश गरेर पत्रकार सम्मेलन गरेको हो । सुरुमा तदर्थ समितिका प्रवक्ताका रूपमा समिममियाँ अन्सारी अगाडि आएका छन् । ९ सदस्यीय समितिका सदस्यको नाम पनि सार्वजनिक गरिएको छ ।

संयोजकमा नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष प्रधान नै छन् । अन्य सदस्यमा कुस्तीका अन्सारीसँगै एथलेटिक्सका राजीवविक्रम शाह, फेन्सिङका सुनिल श्रेष्ठ, ट्रायथलनका निलेन्द्रराज श्रेष्ठ, सुटिङका पुष्पदास श्रेष्ठ, हक्कीका अनिल शर्मा, टेबलटेनिसका वृजेन्द्र हमाल र घोडचढी संघका रवि राजकर्णिकार छन् । अन्सारीबाहेक सबै संघका अध्यक्ष हुन् । एनओसीसँग आवद्ध २३ भन्दा बढी संघ मिलेर नै तदर्थ समिति बनाइएको दाबी गरिएको छ ।

संयोजक प्रधानले यो सरकारी हस्तक्षेप नभएर संघहरू मिलेर नै गरेको काम भएको दाबी गरे । उनले अहिले चलिरहेको ओलम्पिक विवादको मुख्य केन्द्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ भएको पनि बताए । प्रधानले भने, ‘विधि, मूल्य र मान्यता मिचिएको छ । स्वेच्छाचारिता हाबी भएको छ । त्यसैले नयाँ तरिकाले अगाडि बढ्न संयोजक पद स्वीकारेको हुँ ।’

उनले थपे, ‘मलाई थाहा छ, मलाई गाली गर्ने धेरै हुनेछन् । तर पनि म अगाडि आएको छु ।’ प्रधानले अब विधानअनुसार साधारणसभा बोलाएर एनओसीको नयाँ नेतृत्व चयन गर्ने बताए । प्रवक्ता अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको कार्यसमितिको चार वर्षे कार्यकाल ०८० को भदौ १९ मा सकिएको थियो । तर कार्यकाल सकिएपछि पनि आवधिक निर्वाचन गरेनन् ।’

अगाडि भनिएको छ, ‘त्यसपछि मात्र एक वर्ष र तीन महिना कार्यकाल थपे, यो विधानअनुसार छैन । श्रेष्ठले अवैधानिक रूपमा आफ्नो कार्यकाल बढाएका छन् । ओलम्पिक कमिटी विधानको कतिपय धारा मिचिएको छ ।’ तदर्थ समितिले जापानमा हुने एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित गर्न राष्ट्रिय खेलकुद परिषद् र संघहरूसँग समन्वय गरेर खेलाडी छनोट प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

कान्तिपुर

Link copied successfully