छहारीको प्रभावशाली जित

यससँगै संकटाले महिलाको लिगमा छनोट हुने सम्भावनालाई दुई खेलपछि नै बलियो बनाएको छ । लगातार दोस्रो जितपछि संकटाको ५ अंक भएको छ ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Chhahari's impressive victory

What you should know

काठमाडौँ — संकटा क्लबले एन्फा महिला लिग फुटबल छनोटमा मंगलबार झापामाथि ४–० को प्रभावशाली जित निकालेको छ । यससँगै संकटाले महिलाको लिगमा छनोट हुने सम्भावनालाई दुई खेलपछि नै बलियो बनाएको छ । लगातार दोस्रो जितपछि संकटाको ५ अंक भएको छ । टोली समूह ‘बी’ को शीर्षमा रह्यो ।

यतिमात्र होइन, संकटाले आफ्नो दुवै खेलमा ‘क्लिन सिट’ पनि राखेको छ । झापाको भने दोस्रो खेलमा आएर पहिलो हार बेहोरेको छ । टिम ३ अंकमै रह्यो । संकटाले खेलको अन्तिम १० मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थियो, तर त्यसको फाइदा झापाले उठाउन सकेन ।

सुशीलाकुमारी चौधरी दोहोरो पहेँलो कार्डमा ८० औं मिनेटमा मैदान छाड्न बाध्य रहिन् । संकटाबाट सुक्रिया मियाले दुई गोल गरिन् । त्यो दुवै गोल पेनाल्टीबाट सम्भव भएको हो । उनले २० औं मिनेटमा पहिलो गोल गरेपछि २८ औं मिनेटमा दोस्रो गोल थपिन् । त्यसपछि प्रतीक्षा राईले ५५ र रेनिशा शर्माले ८९ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि समूह ‘ए’ को खेलमा छहारीले स्टुडेन्ट्सलाई ६–१ ले पराजित गरेको थियो । छहारीको पनि यो लगातार दोस्रो जित हो । टोली ६ अंकसहित समूहको शीर्षमा रह्यो । जितपछि छहारीले पनि आफ्नो छनोट सम्भावना बलियो बनाएको छ ।

स्टुडेन्ट्स भने पहिलो हारसँगै ३ अंकमा सीमित रह्यो । छहारीको जितमा सुमित्रा सिंह पाख्रिनले दुई गोल गरिन् । उनले १६ औं मिनेटमा गोलको खाता खोलिन् भने ३८ औं मिनेटमा अर्को गोल थपिन् । यसबीच अस्मिता चौधरीले ३५ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरिन् ।

यसपछि ललिता मण्डलले ५६, सानिमा माया लोले ७५ र दीपा पुनमगरले ७७ औं मिनेटमा गोल गरे । स्टुडेन्ट्सबाट सम्भव एक मात्र गोल सबिना तामाङको नाममा रह्यो । उनले ६७ औं मिनेटमा गोल गरेकी हुन् । तर टिमलाई यो सान्त्वनाभन्दा बढी केही रहेन ।

कान्तिपुर संवाददाता

Link copied successfully