कुश्मा नगरपालिका–५ बडगाउँ चौरमा सञ्चालन हुने फुटबल प्रतियोगितामा देशभरबाट २६ फुटबल समूह सहभागी हुने पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले बताए ।
पर्वत — कुश्मा बजारमा भदौ ५ देखि ७ गतेसम्म राष्ट्रियस्तरको खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पर्वत जेसीजले खेलको आयोजना गरेका हो ।
मंगलबार जेसीजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठबाट जेसीज कप शिल्डको अनावरण गरिएको छ ।
कुश्मा नगरपालिका–५ बडगाउँ चौरमा सञ्चालन हुने फुटबल प्रतियोगितामा देशभरबाट २६ फुटबल समूह सहभागी हुने पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले बताए । पर्वतमा सर्वाधिक पुरस्कार राशिको फुटबल पहिलो पटक आयोजना भएको अध्यक्ष पौडेलको दाबी छ । विजेता समूहले १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ ।
‘कुश्मा बजार पर्यटनमा अघि भएको विषयमा सबैलाई जानकारी छ । बन्जी, जिपलाइन, अग्लो पुल, र्याफटिङ, गुफा लगायतका गन्तव्यमा यहाँ आइपुग्ने पर्यटकहरू पुग्नु भइसकेको छ ’, उनले भने, ‘विगतमा खेलले चिनाएको पर्वतको साखलाई फुटबल प्रतियोगिताले फेरि फर्काउनेमा आसा गर्न सकिन्छ ।’ उनका अनुसार देशैभरका समूह सहभागी हुने हुँदा फुटबलले पर्वतको पर्यटनमा टेवा पुर्याउने छ ।
