तीन फरक पोजिसनका विदेशी खेलाडी अनुबन्ध गर्दै काठमाडौं स्पाइकर्सले टिम सन्तुलन बलियो बनाएको जनाएको छ ।
What you should know
काठमाडौँ — दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओमिमा कोडिललाई अनुबन्ध गरेको छ ।
स्पाइकर्सले तेस्रो विदेशी खेलाडीका रूपमा मिडल ब्लकर/अपोजिट हिटर कोडिललाई अनुबन्ध गरेको हो । यसअघि बुल्गेरियन सेटर निकोभा र काजकिस्तानकी अपोजिट हिटर एलिनालाई अनुबन्ध गरिसकेको छ ।
तीन फरक पोजिसनका विदेशी खेलाडी अनुबन्ध गर्दै काठमाडौं स्पाइकर्सले टिम सन्तुलन बलियो बनाएको जनाएको छ । पहिलो सिजनमा काठमाडौंबाट टर्की र बुल्गेरियाका खेलाडीले खेलेका थिए । पहिलो पटक नेपालमा लिग खेल्न आउन लागेकी कोडिल उत्साही छन् । ‘नेपालमा एभरेस्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरा लागि ठूलो सम्मानको कुरा हो । नेपालका भलिबल फ्यानलाई भेट्न र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छु,’ उनले स्पाइकर्सको विज्ञप्तिमा बताएकी छन् । तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि स्पाइकर्समा खेलाडी संख्या ११ पुगेको छ । अब ट्यालेन्ट हन्टबाट एक खेलाडी लिन बाँकी छ ।
राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेयरमा निरन्तरता दिएको स्पाइकर्सले अक्सनबाट ७ खेलाडी अनुबन्ध गरेको थियो । काठमाडौंले अक्सनबाट मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । प्रशिक्षकमा लोकबहादुर बुढालाई नियुक्त गरेको छ । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।
क्विन्सको एम्बासडरमा आयशाको निरन्तरता
लिगको प्रतिस्पर्धी टोली ललितपुर क्विन्सले तेक्वान्दोकी आयशा शाक्यलाई आफ्नो गुडविल एम्बासडरमा निरन्तरता दिएको छ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ । सोमबार ललितपुर क्विन्स क्लबका अध्यक्ष रमेश पराजुली र सागकी तीन स्वर्ण पदक विजेता आयशा शाक्यले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।
उत्सव खड्काको प्रशिक्षणमा ललितपुर क्विन्स कोर्टमा उत्रनेछ । मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छन् भने ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनीता राई, सलिना बुढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई लिएको छ । क्विन्सले थाइ खेलाडी पट्राथिप सान्त्रकुनलाई पुनः अनुबन्ध गरेको छ ।
