लगातार दुई खेल हारेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ, आजको प्लेइङ ११ मा आरिफ शेख र भीम सार्कीलाई समावेश गरिएको छ।
काठमाडौँ — अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा १७६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले मेलबर्न स्टार्स एकेडेमीविरुद्ध १७६ रनको लक्ष्य पाएको हो ।
मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो । मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन बनाए । मात्र ४७ बल खेल्दै उनले ६ चौका र दुई छक्का प्रहार गरे ।
यस्तै थोमस रोजर्सले पनि ४६ बलमा ७ चौका र एक छक्काको सहयोगमा ६५ रनको आक्रामक पारी खेले ।
पहिलो ओभरमै विकेट लिएर नेपालले त्यसपछि सम्हालिन नसक्दा विशाल स्कोरको लक्ष्य पायो । सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिए । यस्तै सोमपाल कामी र साहब आलमले १/१ विकेट लिए ।
लगातार दुई खेल हारेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । त्यसैले नेपालले आजको खेलमा पनि आफ्नो टिममा धेरै परिवर्तन गरेको छ ।
आरिफ शेख, भीम सार्की र दोस्रो खेलमा बेन्चमा बसेका साहब आलमलाई पनि आज प्लेइङ ११ मा राखिएको छ ।
